दमकमा ‘बृहत बाल महोत्सव २०७५’ हुँदै

माघ १५, विराटनगर । ‘बालमैत्री स्थानीय सरकार हामी सबैको साझा सरोकार’ भन्ने मुल नाराका साथ झापाको दमकमा प्रदेश स्तरीय ‘बृहत बाल महोत्सव २०७५’ हुने भएको छ ।
दमक नगरपालिकाको आयोजनामा दमक–९ को सरस्वती माध्यामिक विद्यालय प्राङ्गणमा माघ १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने बाल महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
null
बालबालिकाको मनोभावना अनुकुलका क्रियाकलाप मार्फत उनीहरुलाई मनोरञ्जन प्रदान गर्दै अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सो महोत्सवमा १ नंम्बर प्रदेशका सबै जिल्लाहरु समेट्दै सहभागिताका लागि देशभरीका बालबालिकालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
बाल महोत्सवको तयारी तीव्र रुपमा चलिरहेको मुल आयोजक समिती मुख्य संयोजक दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले जानकारी दिइन् । महोत्सवमा बालबालिकाका लागि बाल गायन प्रतियोगिता, वक्तृत्वकला, चित्रकला, कविता, निबन्ध, बाल बालिकाद्धारा निर्मित विज्ञान प्रदर्शनी र प्रतियोगिता, म्याथ ओलम्पियाड तथा हाजिरीजवाफ लगायतका प्रतियोतिाहरु हुनेछन् ।
विभिन्न किसिमका प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न सहयोग गर्ने विद्यालयको अपेक्षा रहेको छ । विद्यालयका प्रधानाध्यापक सितारम दाहालले महोत्सव विद्यालयको प्रतिभा प्रस्फुटन गर्ने थलो बन्ने बताए ।
महोत्सवमा स्थानीय संस्कृति झल्कने बाल झाँकी प्रदर्शनी, मनोरञ्जनात्मक खेल प्रदर्शनी, बाल नृत्य प्रदर्शनी, तारापुञ्ज तथा सुर्य अवलोकन, आणविक विज्ञान सम्बन्धी सुचनामुलक जानकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त प्रतिभाहरुको प्रस्तुती रहने जनाएको छ ।
५९ लाखको लागतमा आयोजना हुन लागेको महोत्सवमा होटल, सहकारी, संस्था, खेलकुद, शैक्षिक तथा अन्य विषयसँग सम्बन्धित ५० वटा स्टलहरु समेत रहने छन् ।
बाल महोत्सवमा करिब १ लाख बालबालिका तथा अभिभावकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवको लागि मुल आयोजक समिती र अन्य उपसमितीहरु गठन गरिएको छ ।








