बिराटनगर महानगरको बजेटको कार्यान्वयन अपेक्षित रुपमा हुन सकेन

माघ ३, बिराटनगर । चालु आर्थिक वर्षको आधा समय बित्न लागेपनि अस्थायी राजधानी रहेको प्रदेश १ को एकमात्र महानगर बिराटनगर महानगरपालिकामा बजेटको कार्यान्वयन अपेक्षित रुपमा हुन सकेको छैन ।
महानगरवासीलाई गौरवशाली नागरिकको अनुभूति गराउँने देखि सुखी, खुसी, सभ्य र समृद्ध सहरको लक्ष्य लिएको महानगरपालिकाले अहिलेकै कार्यशैलीले लक्ष्य पुरा गर्न नसक्ने आशंका देखिएको छ । प्रदेश नं. एकको एकमात्र महानगर बिराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको लक्ष्यमा अपेक्षित प्रगति गर्न सकिरहेको छैन ।
null
चालु आर्थिक वर्षको ६ महिना बिते पनि हालसम्म १४ प्रतिशत मात्र पुर्वाधार बिकास तर्फको योजना सम्पन्न भएको देखिएको छ । गत असार १० गते महानगरपालिकाले नगरस्तरीय २ सय ७१ वटा पुर्वाधार निर्माणका योजना आफनो नीति तथा कार्यक्रममा समावेश गरी सार्वजनिक गरेको थियो । जसअनुसार महानगरका योजना मध्ये ७१ प्रतिशत बिकास पूर्वाधारको योजनाहरु अझै सम्झौता हुन बाँकी छन् । महानगरको पूर्वाधार बिकासका योजनामा यही गतिमा अगाडि बढेमा चालु आर्थिक वर्षको बजेटको कार्यान्वयन हुनेमा समेत जटिलता देखिएको छ ।
विराटनगर महानगरपालिकाका सुचना अधिकृत नन्दीकेशर भण्डारीले हालसम्म ३९ वटा योजना सम्झौता भएको र सम्झौता भएको योजनामध्ये अहिलेसम्म ११ वटा योजनामात्र पूरा भएको बताए । उनले भने ‘ अहिले सम्म ३९ वटा योजना सम्झैता भएकोमा ११ वटा मात्र सम्पन्न भईसकेको अवस्था छ र आर्थिक वर्ष २०७४/०७५ को दायित्व सरि आएका योजनाहरु २ सय ३ वटा योजनामा १ सय २४ वटा योजना सम्पन्न भएको छ ।
अहिले सम्म कुल ५ करोड २९ लाख भुक्तानी भएको छ ।’ महानगरले चालु आर्थिक बर्षका लागि भौतिक पूर्वाधार तर्फ कुल बजेटको ७२ दशमलव ७१ प्रतिशत बजेट विनियोजित गरेको थियो । यसले चालु तर्फ ७ दशमलव ५३ प्रतिशत बजेटमा समावेश गरेको थियो । यता महानगरपालिकाका मेयर भीम पराजुलीले भने महानगरले अघि सारेको पूर्वाधार विकासका योजना समयमै पुरा गर्न आवश्यक सयन्त्र तयार गरी महानगर अगाडी बढेकाले सबै योजना समयममै सम्पन्न हुनेमा आफु आशावादी रहेको दावि गरेका छन् ।
मेयर पराजुलीले भने ‘ हामीले हाम्रा समिति मार्फत कार्य प्रगतिका बारेमा जानकारी लिई रहेका हुन्छौँ । महिनामा बोर्डको ३ वटा बैठक बस्छ, यस विषयमा त्यहाँ पनि हाम्रो छलफल हुन्छ । हरेक महिनाको ७ गते बिराटनगर महानगरपालिकाले समग्र शाखा महाशाखाहरुको के कति काम भएको छ भनेर कार्य प्रगति विवरण पनि लिन्छौँ । यसले गर्दा योजनाहरु समयमै सम्पन्न गर्नका लागि बल पुग्छ ।
बैशाख अगावै सबै योजना तथा कार्यक्रम सम्पन्न गरिसक्नु पर्छ भन्ने महानगरको मान्यता हो । हाम्रा योजना प्रभावकारी ढंगले सम्पन्न गर्न दत्त चित्त भएर लागि परेको छ ।’ बिराटनगर महानगरपालिकाले चालु आर्थिक बर्षका लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैँयाको आय व्यय प्रस्तुत गरेको थियो । कुल बजेटको भौतिक पूर्वाधार तर्फ परियोजना सहित ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरेको थियो ।
त्यसैगरी चालु तर्फ ३३ करोड ६८ लाख ५२ रुपैँया विनियोजित गरेको थियो । पाँच महिनाको समय सकिदा सम्म कुल ३९ वटा योजना सम्झौता भएकामध्ये १४ प्रतिशतको काम मात्र सम्पन्न हुनुले नीति तथा कार्यक्रम र बजेट अनुरुप महानगरपालिकाले काम गर्न नसकेको पक्कै देखिन्छ । भाषण र कागजमा ठूला–ठूला आश्वासन र सपना देखाउने तर व्यवहारमा उतार्न खासै चासो नदेखाउने स्थानिय सरकारको प्रवृत्ति बारम्बार देखा पर्ने गरेको छ ।








