सुनकाण्डमा मुछिएका विमानस्थलका रेडियो अपरेटर श्रेष्ठको १४ करोड अवैध सम्पत्ति !

 

माघ १५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वमु श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । 

अख्तियारले जिल्ला अदालत काठमाडौँमा सुन तस्करीको मुद्दा खेपिरहेका श्रेष्ठले साढे १४ करोडभन्दा बढी अवैध रुपमा अकुत सम्पति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । 

null

श्रेष्ठले अवैध रुपमा कमाएको साढे १४ करोड उनको दुई श्रीमती, भाइ, बुहारी र आफ्नै बाबुको नाममा राखेको खुल्न आएको अख्तियारले जनाएको छ । श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत मुद्दा चलाएको हो । 

अख्तियारले ३३ किलो सुन तस्करी प्रकरणमा तानिएपछि २०७३ पुस २७ देखि निलम्बनमा परेका श्रेष्ठको २०५३ सालदेखिको आम्दानी अनुसन्धान गर्दा यस्तो रहस्य फेला पारेको हो। उनलाई अख्तियारले १४ करोड ६१ लख २४ हजार ४ सय ७८ बिगो र सोही बराबर जरिवाना माग गरेको छ। 

परिवारका अन्य सदस्यको नाममा राखिएको रकम समेत जफत गर्न अख्तियारले माग गरेको छ। 

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचार वापतको चल अचल सम्पत्ति सबै जफत र १४ करोड ६२ लाख रुपैयाँ बराबर नै जरिवाना गर्न अभियोग पत्रमा अख्तियारले माग गरेको छ । 

२०५३–१२–०५ देखि अनुसन्धान अवधिसम्ममा श्यामकृष्ण च्वामु श्रेष्ठको पारिश्रमिक बचत १८ लाख १६ हजार ९ सय ४८ रुपैयाँ रहेको छ । उनले सगोल सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा तीन करोड ४७ लाख ७६ हजार ४ सय ३९ रुपैयाँ रहेको अख्तियारको अनुसन्धानमा खुलेको छ । 

उनका बुवा ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधी उपचार सुविधा ३ लाख ७३ हजार ३ सय ६९ रुपैयाँ लिएका थिए । उनको तलब २० लाख ४६ हजार ७ सय ९ रुपैयाँ र पेनसन १० लाख ३६ हजार ९ सय ९५ रुपैयाँ रहेको अख्तियारले जनाएको छ । 

त्यस्तै परिवारकी अर्की सदस्य सन्ध्या श्रेष्ठको पारिश्रमिक ३ लाख ७६ हजार ८१, रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत १४ लाख ३९ हजार ८ सय ६७ र रविना प्रधानांगको पारिश्रमिक बचत रु १२ लाख ६१ हजार ४ सय २१ रहेको छ भने तारादेवी श्रेष्ठको पारिश्रमिक बचत रु ५ लाख ३३ हजार ६ सय ७५ रुपैयाँ रहेको अख्तियारले जनाएको छ । 

जग्गा बिक्रीबाट २ करोड ७९ लाख ७३ हजार ६ सय ८३रुपैयाँ, फ्ल्याट बिक्रीबाट १ करोड ५७ लाख ८७ हजार ३ सय २० रुपैयाँ र घरबहालबाट ३४ लाख रुपैयाँ आम्दानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

श्यामकृष्णले पदमा रहेर प्राप्त गरेको कमिसन ९ हजार ७ सय ८० रुपैयाँ, सवारीसाधनहरु बिक्रीबाट ५४ लाख १६ हजार ३ सय १० रुपैयाँ वैध आम्दानी गरेको अख्तियारको दाबी छ। 

२०५३–१२–०५ देखि अनुसन्धान अवधिसम्ममा जग्गा खरिदमा दुई करोड ४६ लाख ३९ हजार तीन सय २५ रुपैयाँ खर्च भएको देखिएको छ । घर निर्माणमा तीन करोड ८६ लाख १५ हजार आठ सय ८९ रुपैयाँ खर्च भएको छ। उनले अध्ययन खर्चमा १० लाख ३८ हजार चार सय तीन रुपैयाँ खर्च गरेको देखिन्छ। 

त्यस्तै नमोबुद्द एग्रो प्रा.लिमिटेड समेतका कम्पनीमा गरेको लगानी ५ करोड ४७ लाख ६८ हजार, ऋणको सावाँ व्याज भुक्तानीमा ३ करोड ७४ लाख ४४ हजार ८ सय ६ रुपैयाँ, सवारी साधन खरिदमा २ करोड २६ लाख १६ हजार, बैंक मौज्दात ८६ लाख १८ हजार २७८, घरबहाल कर तिरेको ३ लाख ५५ हजार ४ सय १४ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 

उनले बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५० रुपैयाँ हो भने फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५० रुपैयाँ लागेको छ। उनले शेयर खरिदमा ३५ हजार खर्च गरेका छन्। 

उनले कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ। तर उनको स्रोत खुलेको आय भने ९ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ हो। अख्तियारका अनुसार उनले १० करोड ११ लाख ४६ हजार ९ सय ८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गरेको छ। 

अख्तियारले श्यामकृष्ण च्वामु श्रेष्ठकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गलाई प्रतिवादी बनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =