एन्फा अनियमितताबारे छानबिन गर्न खेलकूद मन्त्रालयलाई पत्र

 

माघ २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको अनियमितताबारे छानबिन सुरु गरेको छ । 

गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुखजु र धादिङका अध्यक्ष दीपक खतिवडाले एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेपछि सोमबारदेखि प्रारम्भिक छानबिन सुरु गरिएको हो । 

null

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले छानबिनका लागि युवा तथा खेलकूद मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । उनले छानबिनको प्रारम्भिक चरणमा भएका कारण अहिले नै भ्रष्टाचार भएको भन्न नमिल्ने बताए । 

गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएको आरोप लागेको थियो । आरोप लगाएका ४ जना अध्यक्षले अख्तियारमा उजुरी दिएका थिए । 

उजुरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ। 

एन्फाका प्रवक्ता किरण राईले भने आरोप प्रमाणित गर्न चुनौति दिँदै आएका छन् । उनले आरोप प्रमाणित भए आफूहरु कारबाही भोग्न तयार भएको सुनाए । 

एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक भोलि (बिहीबार) का लागि बोलाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *