द्वन्द्वकालमा विस्थापित मोरङका आधादर्जन छोटी भन्सार अझै बन्द

 

माघ ७, विराटनगर । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्चालन हुन नसक्दा तस्करी मौलाउँदै गएको छ । 

माओवादीको १० वर्षे शसस्त्र द्वन्दकालमा विस्थापित भइ बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ६ वटा छोटी भन्सार कार्यालयहरु अहिले सम्म सञ्चालन हुन नसक्दा ती नाकाबाट तस्करहरुले सिमावर्ती भारतीय बजारहरुबाट अवैध रुपमा खुलेआम तस्करी गर्ने गरेको पाइएको छ । यसैको उदाहरणका रुपमा लिन सकिन्छ, मोरङको तारेगस्थित मझारे छोटी भन्सार कार्यालयलाई । 

null

तत्कालिन नेकपा माओवादीको १० वर्षे शसस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेका बेला उक्त छोटी भन्सार कार्यालयमा बम विष्फोट गराइएको थियो । त्यसपछि बन्द भएको छोटी भन्सार अझै पनि खुलेको छैन । 

 

लामो समयसम्म उक्त छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेपछि जिर्ण बनेको मात्र छैन, लाखौँ मूल्य बराबरका सामग्रीहरु समेत नष्ट भएका छन् । 

अहिले सो छाटी भन्सार कार्यालय विभिन्न जिवजन्तुको बासस्थानका रुपमा परिणत भएको छ भने स्थानीयका लागि विभिन्न सामान राख्ने स्थान बनेको छ । 

चालु अवस्थामा रहँदा मझारे छोटी भन्सार कार्यालयबाट दैनिक राजश्व संकलन मात्र हुँदै आएको थिएन, सो नाकाबाट हुने गरेको चोरी पैठारी र तस्करी समेत ठप्प अवस्थामा थियो । तर लामो समयसम्म उक्त छोटी भन्सार कार्यालय पुनःनिर्माण गरि सञ्चालनमा ल्याउन नसक्दा अहिले सिमावर्ती भारतीय सोनामनि गुदाम, फरविसगंजलगायतका बजारबाट नेपालतर्फ अवैध रुपमा मलखाद, खाद्यान्न, लत्ता कपडा, मेसिनरि समान लगायतका विभिन्न वस्तुहरु भित्रिने गरेको स्थानिय युवराज साहले जानकारी दिए । 

 

उनले सरकारले सो छोटी भन्सार कार्यालय पुनःनिर्माण गरे ठुलो परिणाममा राजश्व संकलन हुने र चोरी पैठारी पनि ठप्प हुने दावी गरे । उनले भने, ‘यो छोटि भन्सार कार्यालय द्धन्दकालमा तत्कलिन नेकपा माओवादीले विष्फोट गराएदेखी बन्द भएको हो । अहिले सम्म सुचारु हुन सकेको छैन । बन्द हुँदा तस्करी दिन दिनै बढीरहेको छ ।’ 

मझारे छोटी भन्सार कार्यालय त एउटा उदाहरण मात्र हो । द्वन्द्वकालमै विस्थापित भएर बन्द अवस्थामा रहेका जिल्लाका विभिन्न ९ छोटी भन्सार कार्यालय मध्ये अहिले मायागंज छोटी भन्सार कार्यालय सोराभाग, रंगेली छोटी भन्सार र डायनियाँ छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेका छन् । अन्य छोटी भन्सार कार्यालयहरु भने बन्द अवस्थामै रहेका छन् । जिल्लाका बुधनगर छोटी भन्सार, नोचा, बरडंगा, चौकीघाट, डोरीयालगायतका छोटी भन्सार कार्यालयहरु पनि बन्द अवस्थामा रहेका छन् । 

 

ती छोटी भन्सार कार्यालय मध्ये कतिपयको त अहिले कुनैपनि संरचना समेत छैन । यसरी छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेपछी विगत लामो समयदेखि उक्त नाकाहरुबाट तस्करहरुले खुलेआम रुपमा विभिन्न उपभोग्य सामाग्रीहरु अवैध रुपमा नेपाल भित्र्याइ विभिन्न बजारहरुमा पु¥याउने गरेको स्थानीयले बताएका छन् । 

त्यतिमात्र नभइ चौपाया समेत सेटिङमा अवैध रुपमा भारततर्फ निर्यात हुने गरेको बताइएको छ । हालका चालु अवस्थामा रहेका छोटी भन्सार कार्यालयहरुलाई पाँच हजार रुपैयाँ भन्दा वढि मुल्यका सामानको राजश्व असुली गर्ने अख्तियारी नरहेपछी ती तीन वटा कार्यालयहरुबाट मात्र पनि वर्षेनि लाखौँ रुपैयाँ राजश्व संकलन हुने गरेको विराटनगर भन्सार कार्यालयका सुचना अधिकृत मणिराम पोडेलले जानकारी दिए । 

अधिकृत पौडेलले सञ्चालनमा नरहेका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नुपर्ने अवस्था हेरेर पहल गरिने बताए । उनले भने, ‘प्राय सबै छोटी भन्सार कार्यलयहरु अध्ययनका क्रममा रहेका छन् । हालसम्म ३ वटा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा ल्याइएको छ र अन्य छोटी भन्सारहरु विभागबाटै अध्ययन भइरहेका छन् सञ्चालनका लागि । 

छोटी भन्सार कार्यालयहरु सञ्चालन नहुँदा तस्करी मौलाउँदै आएको त छ नै राज्यले वर्षेनी करोडौँ राजश्व गुमाउँदै आउनु परेको छ । त्यतिमात्र नभएर सञ्चालनमा आउन नसकेर जिर्ण बनेका छोटी भन्सार कार्यालयका करोडौँ मुल्य बराबरको राज्यको सम्पत्ति त्यसै नष्ट भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =