प्रधानन्यायाधीशका लागि स्वीकृत भए चोलेन्द्र शमशेर राणा

पुस १७, काठमाडौँ । संदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम स्वीकृत गरेको छ । उनीमाथि परेका उजुरीका बारेमा सुनुवाई गरेपछि समितिले मंगलबार उनको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको हो ।
चोलेन्द्रशमशेर राणाले मंगलबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ आज पनि दिएका थिए । बैठकमा राणाले आफ्नो कार्ययोजना पूरै पालना गर्ने बताए ।
null
राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार कार्य गरी सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए । ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृयाअनुसार नै काम गरिरहेको छ । अब पनि गर्छ,’ राणाले भने ।
उनले सरकारले गर्ने विकासका काममा अदालतले कहिल्यै अवरोध नगर्ने भन्दै अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाइने दाबी गरे । उनले न्यायालय सुधारेरै छोड्ने जिकिर गर्दै अनुहार कुरुप हुने काम नगर्ने प्रतिबद्धता जनाए ।
उनले प्रेरणाको दाइजोको विषयमा उठेका सवालमा, ‘प्रेरणा राज्यलक्ष्मी शाहलाई नयाँ कानुन ल्याइनुअघि नै दाइजोमा दिइएकाले यस्तो फैसला गरेको हुँ’ भन्ने जवाफ दिए ।
त्यस्तै उनले पूर्व संचार मन्त्री जयप्रकाश गुप्ताको मुद्दाको विषयमा पनि उनले अदालतको व्याख्याका कारण फरक फैसला बुझिएको तर्क गरे।
गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेसँगै उनीविरुद्ध ९ वटा उजुरी परेका थिए ।








