मृत्युको मुखमा पुगेका बिरामीका लागि ‘भगवान’ बन्दै डा.शर्मा (भिडियोसहित)

 

माघ १४, विराटनगर । गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दा समेत उपचार गर्न नसकी पीडाले तड्पीन बाध्य थिए मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राई । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा ‘भगवान’ सरह बने । 

घाउमा स्याँउस्याँउती किरा परेर दुर्गन्धित भई छेउछाउमा मान्छे जानै छोडिसकेका बेला डा.शर्मा बेसहारा राईको पीडामा मलम लगाउन पुगे । छोराछोरी र श्रीमतीलेसमेत माया मारेर छोडिसकेका राईलाई डा.शर्माले उद्धार गरी सम्पूर्ण खर्च बेहोरेर अहिले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् । ‘बाँच्छु भन्ने आशा थिएन । यत्तिकै कुहिएर मर्छु भनेर हरेस खाइसकेको थिएँ ।’ पीडा सुनाउँदै उनी भन्छन्, ‘नसोचेको साथ मिल्यो । सुनिल सर मेरा लागि भगवान बन्नुभयो । अब बाँच्ने आशा जागेको छ ।’ 

null

 

चन्द्रबहादुरको जस्तै दर्दनाक अवस्थामा तड्पिरहेका सुन्दरहरैचाका प्रकाश पौडेलको पीडा पनि कम छैन । थोत्रे काटुन र पानीको वोतल भेला गरेर बिक्रि गरी जिविका चलाउँदै आएका पौडेलको अनुहारसहित हात, खुट्टामा घाउ निस्किएर बढ्दै गई स्याँउस्याँउ किरा परे । 

उपचार गर्न र पीडा सहन दुबै नसक्दा बिस खाएर मर्ने योजना बनाइसकेका पौडेललाई डा.सुनिल शर्माले साथ दिएपछि अहिले उनमा नयाँ उमंग पलाएको छ । ‘नर्कमा थिएँ, अहिले स्वर्गमा आईपुगे जस्तो भएको छ । मलाई बचाउने सुनिल सरलाई भगवान मान्छु ।’ उनले भने । 

 

७ बर्षको हुँदा आतंकवादी समुहले आँखै अगाडी बाबु–आमा र भाइको हत्या गरेपछि टुहुरो बनेका ३५ बर्षीय पौडेल दुई छाक टार्न संघर्ष गर्दै आए । तर, घाउको पीडाका कारण काम गर्न नसकेपछि सडकमा मागेर खाँदै आएका उनलाई डा.शर्माले उठाएर निःशुल्क उपचारका लागि नोबेल ल्याएका हुन् । 

 

चन्द्रबहादुर र प्रकाश मात्र हैन उनीहरु जस्ता हजारौं विपन्न र बेसहारा बिरामीलाई डा.शर्माले खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका छन् । आपतमा परेका बिरामीको खोजिका लागि दैनिक रुपमा मोरङका गाउँ–गाउँ पुग्दै आएका डा.शर्माले हजारौं बिरामीलाई सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गरिसकेका छन् । 

 

अति विपन्न बिरामीलाई डा.शर्माले अस्पताल ल्याएर औषधि, उपचारसँगै खाना, खाजा पनि उपलब्ध गराई निको भएपछि पुनः घरमै पुर्याईदिने गरेका छन् । 

 

गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसको तर्फबाट उम्मेदवारसमेत रहेका समाजसेवी डा.शर्माले चुनाव अघि देखिनै यो अभियानलाई जारी राखेका हुन् । ‘समस्यामा परेका बेला सहयोग गर्नु मानवीय कर्तव्य हो’, डा.शर्मा भन्छन् ‘मैँले सकुञ्जेल र बाँचुञ्जेलसम्म यो अभियान रोकिँदैन ।’ 

राजनीतिभन्दा माथि उठेर समाजसेवामा सक्रिय डा.शर्माले पार्टी र क्षेत्र भन्दा पनि बिरामीको आर्थिक अवस्था मूल्यांकन गरेर सहयोग गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *