मानव सेवा आश्रम चितवन शाखाको भवन शिलान्यास

 

माघ ८, चितवन । मानवसेवा आश्रम चितवन शाखाको भवन शिलान्यास भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले आश्रमको भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दुलालले सुसंस्कृत समाज निर्माणमा मानवसेवा आश्रमको भूमिका महत्वपूर्ण रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत नै सामाजिक सुरक्षाको सुनिश्चितता गरेको भन्दै उनले सामाजिक सेवा सबैको अभियान भएकाले यस्ता गतिविधिलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

null

त्यस्तै, प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले राज्यले पनि गर्न नसकेको काम मानव सेवा आश्रमले गरेको भन्दै मानवसेवा गर्ने इच्छाशक्ति भएकाले मात्र यो काम गर्न सक्ने बताए । दीर्घकालीन रुपमा नै सडक पेटीमा बस्न बाध्य अशक्त तथा वृद्धवृद्धाको राज्यले नै जिम्मा लिनुपर्ने उनको भनाइ छ । 

मानवसेवा आश्रमको भवन निर्माणका लागि व्यक्तिगत २ लाख रूपैयाँ सहयोग गर्ने घोषणा समेत उनले गरेका छन् । प्रदेश नं १ बाहेकका प्रदेशहरुमा आश्रमको शाखा स्थापना भएको मानवसेवा आश्रमकी महासचिव रुपा केसीले जानकारी दिइन् । १२ जिल्लाका १४ स्थानमा मानवसेवाका शाखाहरु स्थापना भइसकेको उनको भनाइ छ । 

मानवसेवा आश्रमका सबै शाखाहरुमा गरी हाल ६ सय ५० जना आमाबुबाहरु रहेका छन् । घरबार बिहीन, खुल्ला आकाश मुनी सडक पेटीमा बस्न बाध्य आमाबुबाको उद्धार गरी पालनपोषण देखि पारिवारीक पुनर्मिलन समेत गराइदैँ आएको केसी बताउँछिन् । 

मानवसेवा आश्रमले विसं २०८२ सालसम्ममा नेपालमा कोही पनि व्यक्ति अनाथ, असहाय एवं असक्त भएर खुल्ला आकाश मुनी सडक पेटीमा रात बिताउन नपर्ने अवस्थाको सिर्जना गरिने जनाएको छ । प्रदेश नम्बर ३ मा आगामी ३ वर्षभित्र कुनै व्यक्तिले सडक पेटीमा रात बिताउन नपर्ने मानव सेवा आश्रम चितवन शाखाकी संयोजक केसीले जानकारी दिइन् । 

भवन शिलान्यास कार्यक्रममा समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भमनपा वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित लगायतले बोलेका थिए । नारायणगढको बेलचोक स्थित पूर्णकमल मार्गमा प्रेमकुमार श्रेष्ठको नाममा रहेको २ कठ्ठा र स्वर्गीय भगवानदास श्रेष्ठको नाममा रहेको ६ कठ्ठा जग्गामा आश्रमको भवन निर्माणका लागि जग्गा दान गरिएको थियो । 

आश्रम हाल भरतपुर १०, बाइपास रोडमा सञ्चालनमा रहेको छ । मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर हेटौँडामा रहेको छ । आश्रमले हालसम्म ५ सय आमाबुबाहरुको पारिवारिक पुनर्मिलन गराइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *