विप्लव माओवादीले लगाएको काँडेतार प्रहरीले हटायो

माघ ९, चितवन । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाएको छ ।  

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटिले लगाएको उक्त काँडेतारको बार करिब ३० मिटर लामो रहेको थियो । भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै उक्त क्षेत्रमा आक्रोशित विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले काँडे तार लगाएको हो ।  

विप्लव माओवादीले काँडेतार लगाएको खबर विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले तत्कालै काँडेतार हटाउन आदेश दिएपछि ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक उमेश कोइरालाको कमान्डमा प्रहरी टोलीले काँडेतार हटाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुबेदीले जानकारी दिए । तीन नम्बर प्रदेश प्रहरी कार्यालयले समेत काँडेतार हटाउन चितवन प्रहरीलाई आदेश दिएको थियो । 

null

भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभएर कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दा समेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको बिप्लव माओवादी निकट अखिल क्रान्तिकारीको ठहर छ । नेपालको भूभाग कालापानीमा दशकौं देखि भारतीय सेनाले क्याम्प खडा गरेको छ ।  

सन् २०१५ (२०७२ साल) मा मात्र नेपालको भूमि लिपुलेक भारतले आफ्नो भनी चीनसँग सम्झौता गरेको थियो । जसको चौतर्फी विरोध भएपछि चीन सम्झौताका बारेमा पुनर्विचार गर्न तयार हुँदा नेपाल सरकारले भने कुनै चासो देखाएको छैन । केही वर्षअघि १९५० को सन्धिलगायत नेपाल–भारतको सीमा समस्या समाधान गर्ने भनेर डा. भेषबहादुर थापाको नेतृत्वमा गठित प्राज्ञिक समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म भारतीय सरकार पक्षले बुझ्न आनाकानी गरिराखेको विज्ञहरुको तर्क छ । प्रतिवेदनमा सीमा समस्याका बारेमा विवादास्पद कुरा लेखिएकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेको बुझिएको छ । 

भारतले मिचेको ७८ हजार हेक्टर जमिन फिर्ताका लागी दवावस्वरुप काँडेतार लगाइएको विप्लव क्रान्तिकारीका चितवन अध्यक्ष चिरञ्जिबी ढकालले बताए । ‘नेपालको ७१ ठाउँमा भूमी मिचिएको छ, मिचिएको भूमी फिर्ता हुनुपर्छ । सीमा मिचिएको ठाउँमा काँडेतार लगाउँछौं,’ उनले भने । ७८ हजार हेक्टरभन्दा बढि भूमि फिर्ता नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने अध्यक्ष ढकालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =