झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय

काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ।
रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको छ। गत आर्थिक वर्ष २०७४–७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ। कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन्।
किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो। यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ।
null
तर, अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतलासलाई व्यापक पार्न थालेपछि बढी अवधि जागिर खाएका कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका हुन्। किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिए।प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताए।
किताबखानाका अनुसार बढी सेवाअवधि जागिर खाने जिल्ला वन कार्यालय सिरहाका तत्कालीन सहायक वन अधिकृत रामसेवक यादवबाट १५ लाख असुल उपर गर्ने निर्णय गरिएको छ। तत्कालीन जिसस सल्यानका महेशराज न्यौपानेबाट १३ लाख ४५ हजार, जिसस पर्साकी नासु प्रदर्शनीप्रसाद थारूबाट ११ लाख ४१ हजार असुल गर्ने निर्णय गरिएको किताबखानाले जनाएको छ।
मुस्ताङका जिल्ला समन्वय समितिका नासु तेजबहादुर नेपालीबाट १० लाख ४६ हजार, वन अधिकृत श्याम मोहनलाल दासबाट ८ लाख ९५ हजार, सहसचिव होमनाथ थपलियाबाट ५ लाख ८९ हजार, नासु रामदत्त पन्तबाट ५ लाख १८ हजार, कार्यालय सहयोगी हरिकृष्ण थापाबाट ६ लाख २६ हजार, स्वास्थ्य अधिकृत इन्द्रदेव यादवबाट ४ लाख ३८ हजार, हल्कारा बालकृष्ण सिग्देलबाट ६ लाख ३९ हजार, स्वास्थ्य अधिकृत मनसरा थापाबाट ३ लाख २१ हजार, नासु किरणकुमार बस्नेतबाट ६ लाख ९९ हजार र नासु ननुलाल चौधरीबाट ७ लाख ५१ हजार रुपैयाँ असुल गर्ने निर्णय भएको किताबखानाले जानकारी दिएको छ। राजधानी दैनिकमा खबर छ।








