गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा न्यौपाने नियुक्त

काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको पैयुँ गाउँपालिका स्थायी घर भएका प्रा डा न्यौपानेलाई आज चार वर्षका लागि कुलपतिमा नियुक्त गरेका हुन् ।

प्रा डा न्यौपाने पृथ्वीनारायण क्याम्पसको नेपाली विभागका पूर्वविभागीय प्रमुख हुन् । न्यौपाने नेपाली भाषा, साहित्य, गीत-सङ्गीत, कला र संस्कृतिका अध्येताका रूपमा परिचित छन् ।

लामो समयदेखि पदाधिकारीविहीन रहेको प्रतिष्ठानमा गण्डकी प्रज्ञा-प्रतिष्ठान ऐन, २०७६ को दफा ८ (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा साहित्य, भाषा, सङ्गीत, बाद्यवादन, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, गायन, रचना, संस्कृति तथा लोकदोहोरीलगायत क्षेत्रको प्रतिनिधित्व हुने गरी २४ सदस्यीय प्राज्ञ सभाको गठन गरिएको छ ।

प्राज्ञसभा सदस्यमध्येबाट प्राडा न्यौपाने कुलपति, शङ्कर विरही गुरुङ (स्याङ्जा) उपकुलपति र मनकुमार श्रेष्ठ (तनहुँ) सदस्य-सचिव नियुक्त भएका छन् । प्राज्ञ सभा सदस्यमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठ, पर्वतका इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ र शान्ति भुसाल, नवलपुरका ईश्वरीप्रसाद भुसाल र सञ्जु महतो थनेत, तनहुँका प्रा डा ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य र शान्ता बाँस्तोला, स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका वसन्त अधिकारी तथा गोरखाका डा वीरेन्द्र पुडासैनी मनोनीत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =