न्यायिक समितिमा मुद्दाको संख्या बढ्ने संकेत

पुस ७, बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिकामा गठित न्यायिक समितिमा गत वर्षको तुलनामा यस वर्षमा अधिक मात्रामा उजुरी आउने अनुमान गरीएको छ ।
स्थानीय स्तरमै मुद्दा मामिला तथा विवाद निरुपणका लागि गठित न्यायिक समितिमा गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा अधिक मात्रामा उजुरी परेको बर्दगोरीय गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगवति देवि डगौरा थारुले बताईन ।
null
मकालु खबरसँग कुरा गर्दै न्यायिक समिति संयोजक डगौरा थारुले गत आर्थिक वर्षमा गाउँपालिकामा २३ वटा मुद्दा दर्ता भएकोमा यस आर्थिक वर्षको मंसीर मसान्त सम्म १९ वटा मुद्दा दर्ता भई सकेको जानकारी दिइन् । ‘न्यायिक समिति गठन भएपछि गाउँघरमा हुने विवादहरु आउनेक्रम बढेको छ, गतवर्षको भन्दा यसपटक मुद्दाहरुको संख्या बढ्ने अनुमान छ ।’ उनले भनिन् ।
गत आर्थिक वर्षमा न्यायिक समितिमा २३ वटा मुद्दा दर्ता भएका मध्ये १३ वटा मुद्दाको फैसला भएको समिति संयोजक थारुले जानकारी दिइन् । ‘सामान्य किसिमका मुद्दाहरु न्यायिक समितिमा आएकोमा केहीको फैसला भइसकेको र केही बाँकी रहेका छन् ।’ उनले भनिन् । चालू आर्थिक वर्षमा न्यायिक समिति बर्दगोरीयामा दर्ता भएका १९ मुद्दा मध्ये ८ वटा मुद्दाको फैसला गरी मेलमिलाप गरी सकिएको छ ।
‘गाउँपालिकामा मुद्दा आउनु राम्रो नभएता पनि चालू आर्थिक वर्षमा मुद्दामा कमी ल्याउन जनचेतना मुलक कार्यक्रम गरी सुचना प्रवाह गर्ने योजना छ ।’ थारुले भनिन् । उनका अनुसार सामान्य किसिमका मुद्दाहरु समितिमा आएकोमा केहीको फैसला भइसकेको र केही बाँकी रहेको छ । नयाँ मुलुकी ऐन कानूनको अभाव, कानूनी सल्लाहकार नहुदा मुद्दा फैसलामा जटिलता आएको छ ।
न्यायिक समितिमा जग्गाको साँध सिमाना, चोरी, कुटपिट जस्ता मुद्दा आउने गरेको छ । जटिल खालका समस्याहरुलाई अदालत सम्म पठउने गरेको संयोजक डगौरा थारुले बताईन ।








