इटालियन सिरी ‘ए’ आज युभेन्टस र इन्टर मिलानको भिडन्त

मंसिर २१, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा आज राति युभेन्टस र इन्टर मिलान भिड्दैछन् । यी दुई बलिया टोली यो सिजन पहिलो पटक एक अर्काविरुद्ध उत्रिन लागेका हुन् । 

यो खेल युभेन्टसको घरेलु मैदान टुरिनामा नेपाली समय अनुसार आज राति १ः१५ बजेबाट सुरु हुनेछ । जहाँ मिलान पाहुना टोलीका रूपमा युभेन्टसको घरमा उत्रिनेछ । 

 

null

यस सिजन युभेन्टससँगै मिलान पनि उपाधि होडमा छ । मिलान र युभेन्टस दुवै बलिया टोली भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । त्यसमा पनि युभेन्टसका क्रिस्टियानो रोनाल्डो इटाली पुगेयता लिगमा बलियो टोलीविरुद्ध पहिलो पटक खेल्न लागेकाले यो खेल धेरैका लागि आकर्षणको केन्द्र बन्ने छ । 

युभेन्टस हालसम्म लिगमा हारेको छैन । उसले १४ खेल खेलिसक्दा १३ खेलमा स्पष्ट जित निकाल्दै एक खेलमा बराबरीमा रोकिएको छ । उसले १४ खेलबाट ४० अंक बटुलेको छ । यता, मिलान भने युभेन्टसको तुलनामा केही कमजोर अवस्थामा छ । उसले लिगका १४ खेल सकिँदा १० खेल मात्रै जितेको छ भने २ खेलमा हार र २ खेल बराबरी गरेको छ । ऊ जम्मा ३२ अंक लिएर तालिकाको तेस्रो स्थानमा छ । ऊ युभेन्टसभन्दा ११ अंकले पछाडि छ । 

यसर्थ आजको खेल मिलानका लागि लिग लिडरसँगको अंक दूरी घटाउन निकै महत्त्वपूर्ण हुनेछ । तर, युभेन्टसको घरमा त्यो पनि उच्च लयमा रहेको टोलीलाई हराउन उसलाई सजिलो भने हुनेछैन । 

युभेन्टस लिगमा अपराजित रहेकाले आफ्नो घरमा घरेलु समर्थक बीच खेल्ने हुँदा ऊ आज उच्च मनोबलमा हुनेछ । यो सिजन अपराजित रहँदाको आत्मबल पनि ऊसँग हुनेछ । आजको खेलमा मुख्य केन्द्रमा युभेन्टसका रोनाल्डो र मिलानका माउरो इकार्डी हुनेछन् । दुवै स्टार खेलाडी त्यसमा पनि दुवै पछिल्ला दिनमा लयमा रहेकाले आज उनीहरू आ–आफ्नो टोलीका लागि बलियो हतियार हुनेछन् । 

यदि आजको खेल जिते युभेन्टसले एक खेल कम खेलेको अवस्थामा दोस्रो स्थानको नापोली सँगकाे अंक दूरी ११ बनाउने छ भने मिलानसँगको अंक दूरी १४ पुग्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *