‘राष्ट्रिय प्रतिभा पुरस्कार’ जन्माउँदै विवादित चर्चको अवार्ड

मंसिर २१, काठमाडौँ । विवादास्पद एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त गरेको एक लाख अमेरिकी डलर सहितको ‘लिडरसिप एन्ड गुड गभर्मेन्स’ अवार्डमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गर्ने भएको छ ।
गत मंसिर १७ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले धर्मप्रचारक संस्थाले आयोजना गरेको भन्दै विवादमा परेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीले प्राप्त गरेको उक्त पुरस्कारमा सोही बराबरको रकम सरकारले थप गरी सो कोष स्थापना गर्ने भएको हो ।
null
शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्न राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णयमा सरकार पुगेको हो ।
यस्तै सरकारले ललितपुर महानगरपालिका भैँसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै सोही स्थानमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यसैगरी मन्त्रिपरिषदको बैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउने निर्णय पनि गरेको छ ।
यसका साथै सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिव १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने भएको छ ।
नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि बैठकमा गरिएको छ।








