छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ

जनकपुर । धनुषामा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। १६ वर्षीया छोरी सोनी कुमारी मण्डलको हत्याको आरोपमा जनकपुर उपमहानगरपालिका–२४, सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
सोनीले आफूले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गरेकी थिइन्। तर, आमाबुवाले नमानेको र पछि उनीहरुबीच विवाद बढ्दै जाँदा आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
सोनीले आफूले मन पराएको केटासँग विवाह गर्ने अडान लिँदै आफ्नी आमासँग समेत बोलचाल बन्द गरेकी थिइन्। प्रहरीका अनुसार सोनीले एउटै घरमा भिन्दै पकाएर खाँदै आएकी थिइन्।
null
सोनी मन पराएको केटासँग भाग्ने डरले आमा राजकुमारीले उनलाई केही दिन कोठामा थुनेर राखेकी थिइन्। झन विवाद बढेपछि सोनीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटनामा परिवारका अन्य सदस्यहरुको समेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको थपलियाले बताए।








