किन बालिका नै बढी बलात्कारका शिकार हुन्छन् ?

पुस १५, काठमाडौँ । पछिल्लो समय मुलुकमा बालिका बलात्कार तथा महिला हिंसाका घटना दैनिक रूपमा घटिरहेपनि न्यूनिकरणका सवालमा प्रभावकारी काम भएको पाइँदैन ।
महिला शोषण, हिंसा र बलात्कारको जड पहिल्याउन नसक्दा यस्ता घटना बारम्बार बढिरहेका छन् । महिलालाई जीवनको सारथीका रूपमा नभइ भोग्य साधनका रूपमा लिँदै आएका पुरूषका कारण महिलाहरू समाजमा निर्धक्क भएर हिँड्न सक्ने अवस्था छैन ।
null
गाउँघरमा आजकल दुई वर्षकी बालिकादेखि ७० बर्षे वृद्धासमेत बलात्कारको शिकार भएको पाइन्छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका महिलाहरू आफ्नै घरपरिवारबाट असुरक्षित हुनुको कारण के हो ? नत राज्यले खुट्याउन सकेको छ नत मानवअधिकारवादी र महिला अधिकारवादीले नै ।
समाजमा दिनानुदिन बलात्कार र महिला हिंसाका घटना दोहोरिनुमा धेरै कुराको सामजस्यता देखिन्छ । मूलभुत रूपमा समाजमा विद्यमान परम्परा, धर्म संस्कृति, सामाजिक सोच, यौन कुण्ठा तथा पछिल्लो समय शहर बजारमा भित्रिएको सामाजिक सञ्जाल ।
नेपाली समाजमा एकातर्फ हिन्दु धर्मले महिलालाई देवीको रूपमा पुज्ने गरेको छ, भने अर्को तर्फ त्यहि धर्मले नारीलाई कमजोर पात्र बनाइदिएको छ । महिलालाई पुरूषको अधिनमा बस्नुपर्छ भनेर केहि शास्त्रले परिभाषित गर्दा घर समाजमा महिलामाथी कुनै हिंसा हुँदा सहनु पर्छ भन्ने सोच हावि भएको छ । त्यसमा बोक्सी प्रथा, छाउपडी प्रथाले अझ महिला हिंसालाई प्रश्रय दिएका छन् ।
पूर्वीय समाज यौनका सवालमा अझैपनि संकूचित छ । अर्थात्, हाम्रो समाज यौनलाई झ्याल ढोका बन्द गरेर मात्र हेर्नुपर्छ भन्ने मान्यता राख्दछ । किशोर उमेरमा हरेक युवा युवति यौन प्रति आशक्त, जिज्ञासु हुनु नौलो कुरा हैन । तर, हाम्रो समाजले विवाह अघिको यौनको विषयमा कुरा गर्नुपनि पाप हो भनेर लुकाएको छ ।
स्वभाविक हो, जुनकुरा ज्यादा लुकाइन्छ त्यसलाई हेर्न खोज्नु, जान्न खोज्नु मानवीय चरित्र हो । किशोर उमेरमा विपरित लिङ्गीप्रति आकर्षण बढ्नु नौलो कुरा हैन । तर, हामीले किशोर किशोरीका मनमा विपरित लिङ्गीप्रति उब्जिएका जिज्ञासा र यौनका कुरा बुझाउन भन्दा पनि लुकाउन उनीहरूलाई प्रेरित गर्यौँ । फलस्वरूप मनभरी यौनका कुरा पालेर बसेको किशोर जिज्ञासा मेटाउन जस्तोसुकै हथकण्डा अपनाउन पछि हट्दैन । र, त्यसको शिकार हुन्छन्, कलिला बालिका तथा ७० वर्षको बृद्धा ।
शहर बजारतिर बढेको बलात्कार र यौन हिंसाका घटना केलाउँदा यहाँ पाश्चात्य जिवनशैलीको प्रभाव देखिएको छ । पाश्चात्य जिवनशैलीमा यौनलाई खुल्ला आँखाले हेरिन्छ । त्यहाँको समाजमा १६ वर्ष पुरा गरेपछि युवायुवतीको मन मिलेपछि शारिरीक सम्पर्क राख्नु नौलो कुरा हैन । अझ त्यहाँ किशोर किशोरीलाई स्कुले जीवनदेखि नै विद्यालय र घरपरिवारमा समेत यौन शिक्षा दिइन्छ । र, उनीहरू यौनलाई स्वभाविक रूपमा ग्रहण गर्दछन् ।
पछिल्ला दिनहरूमा युट्युवको माध्यमबाट नेपालमा भित्रिएको प्रोनोग्राफीले हाम्रो संस्कारमा धावा बोलिदियो । त्यसमा मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले युवायुवतीले सिधै घरमा बसेर अश्लिल फिल्म् हेर्न थाले, यसमा भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरू अझ डरलाग्दो रूपमा फसे । र, भिडियोमा हेरेको सेक्सलाई एक्पसेरिमेण्ट गर्ने अथवा विपरित लिङ्गीसँग यौन सम्बन्ध राख्ने चाहनामा उनीहरू बलात्कार र यौनहिंसा गर्न प्रेरित भए ।
जबसम्म पुरूषहरूमा यस्ता किसिमका अहंकार हुन्छन्, तबसम्म महिलाहरू बलात्कार तथा यौन हिंसाका शिकार हुन बाध्य हुन्छन् । निर्मला जस्ता कयौँ बालबालिकाहरू बलात्कृत भएर मारिन्छन् । कतिका दिदीबहिनी लुटिन्छन् त कतिका छोरीचेली ।
पीतृसत्तात्मक समाजमा नारीलाई पुरूषले जस्तोसुकै हिंसा गरेपनि ऊ विरूद्ध औँला उठाउने अधिकार नै दिएइन । यसमा हाम्रो सांस्कृतिक, सामाजिक र परम्परागत सोचको पनि भूमिका छ । संसारको सबैभन्दा ठूलो तथा नारी पूरूषका लागि फराकिलो सोच राखेको धार्मिक ग्रन्थ बाइबलले समेत महिलालाई पूरूषको अधिनमा रहनुपर्छ भनेर परिभाषित गरेको छ । यसमा हामी हिन्दू धर्म संस्कारका ग्रन्थहरू त बाइबल भन्दा पनि पुरातन सोचका छँदैछन् । जब सम्म सामाजिक सांस्कृतिक तथा परम्परागत रूपमा विद्यमान विचारलाई परिवर्तन गर्न सक्दैनौँ, हामीले जतिसुकै ठूला आन्दोलन र अभियान चलाएपनि ती सार्थक हुँदैनन् ।
अहिले हाम्रो देशमा प्रत्येक दिन ३ जना महिला बलात्कृत हुन्छन् । यसरी बलात्कृत हुनेमा बालबालिका नै धेरै पर्ने गरेका छन् ।
मानसिक सन्तुलन बिग्रेको नभइ मानसिक स्तर कमजोर भएका व्यक्तिहरूबाट नै बलात्कारका घटनाहरू हुने गरेको मनोविद करूणा कुवँर बताउँछिन् । ‘जुनसुकै अपराधिक घटना स्वस्थ मानिसले गराउन सक्दैन । भोलिका कुरा ख्याल नराखी क्षणिक सोच राख्ने, आफूलेगरेका कार्यले अरूलाई कस्तो असर गर्छ भनेर नसोच्ने, बाल्यकालमा आफू पनि पीडित भएर त्यसको बदला लिन खोज्ने जस्ता कमजोर मानसिकता भएका व्यक्तिहरू नै यस्ता घटनाका पीडक हुन्छन्,’ उनले भनिन् ।
सेक्सुअल डिजायरलाई नियन्त्रण गर्न नसक्ने व्यक्तिहरूबाट बढी मात्रामा यस्ता घट्नाहरू घट्ने गरेका छन् । मानसिक रूपमै विखण्डित व्यक्ति छ भने उसले तत्कालको अवस्थालाई मात्र हेरेर बलात्कार गर्छ । बौद्धिक, इमोश्नल र सामाजिक आइक्यु ब्यालेन्समा रहेका व्यक्तिबाट यस्ता अपराधिक घटना नहुने मनोविद कुँवरको भनाइ छ । उनी भन्छिन्,‘बिछोड तथा अन्य बदलात्मक भावना, पितृसत्तात्मक सोच, शक्ति र पुरूषत्वको घमण्ड, यौन शिक्षालाई संकुचित बनाइनु, इन्टरनेटको माध्यमबाट अश्लिल भिडियोहरूको प्रभाव बढ्नु जस्ता कारणहरूले पनि बलात्कारका घटना घट्ने गरेको पाइन्छ ।’
अधिकांश पीडकहरूले जसलाई शिकार बनाउँदा आफू कानूनी फन्दामा पर्ने सम्भावना कम हुन्छ भन्ने महशुस गर्छन्, उनीहरूलाई तुरून्तै शिकार बनाउने गर्छन् । उनले बलात्कारको समयमा पीडक आफ्नो बसमा नहुने गरेको बताइन् । ‘एक अनुसन्धानमा एउटा व्यक्तिलाई किन बलात्कार गरेको भनेर सोधियो, जवाफमा पीडकले त्यो समयमा आफू बसमा नहुने र पछि होसमा आउँदा बलात्कार गरिसकेको हुने भनेका छन् । होसमा आएपछि आफूलाई केही समयसम्म आत्मग्लानी भएतापनि केही समयपछिफेरि त्यस्तै हुने र बलात्कारको योजना बनाउने गरेको बताएका थिए ।’
त्यसैले पनि यस्ता घटनामा बालबालिका धेरै पीडित हुने गरेका छन् । बालबालिकालाई सजिलै शिकार बनाउन सकिने, तर्साउन सकिने र कानुनी फन्दामा पर्ने सम्भावना कम हुन्छ भन्ने पीडकहरूको सोचाइका कारण नेपालको सन्दर्भमा मात्रै नभइ विश्वकै तथ्यांक हेर्ने हो भने पनि बालबालिका नै धेरै बलात्कारको शिकार भएको पाइन्छ ।
यस्ता घटना न्यूनिकरण गर्नका लागि मुख्यतः मानसिक तथा कानुनी उपचार आवश्यक पर्छ । जब सम्म बलात्कारीका मनमा बलात्कार जघन्य अपराध हो तथा महिला भनेको भोगविलासिताका लागि हैन भनेर बुझाउन सकिन्न तबसम्म उसको विकृत मानसिकतालाई सन्तुलनमा ल्याउन सकिन्न र बलात्कारका घटना बढिरहन्छन् ।
बलात्कार भएपछि कानुनी उपचार आफ्नो ठाउँमा छ, सबैभन्दा पहिला त बलात्कार नै हुन नदिनु ठूलो कुरा हो । त्यसका लागि पहिले सामाजिक रूपमा बलात्कार गर्र्न हुन्न भनेर विद्यालय स्तरबाटै सचेतना दिन आवश्यक छ । कानुनी उपचार नभइकन सुधार गर्ने कुरा पनि प्रायः सम्भव छैन ।
यौन शिक्षालाई खुलेर सिकाइनुपर्ने मनोविद कुँवरको भनाइ छ । ‘यौन शिक्षाका विषयमा खुलेर बहस हुने हो भने यस्ता घटनामा कमी आउन सक्छ । त्यसको लागि घरैबाट आमाबुवाले आफ्ना छोराछोरीलाई समान व्यवहार गर्नुका साथै उनीहरूभित्र भएका यौन जिज्ञासालाई सहज रूपमा मेटाइ दिनुपर्छ’, उनले भनिन् ।
अहिले बलात्कारीलाई फाँसीको माग भइरहँदा मनोविद कुँवर भने पीडकलाई फाँसी दिँदैमा समस्याको समाधान नहुने बताउँछिन् । उनी भन्छिन्, ‘फाँसी दिँदैमा यस्ता अपराध रोकिने भए फाँसीको सजाय भएको देशमा बलात्कार नै नहुनुपर्ने नि ! त्यसैले फाँसी भन्दा पनि पीडकलाई मानसिक उपचार महत्वपूर्ण हो ।’
प्रहरी प्रधान कार्यालयले बलात्कार नियन्त्रणका लागि आफ्ना मातहतका निकायलाई महिला तथा बालबालिकाविरूद्ध हुने कुनै पनि किसिमका हिंसाहरू दर्ता गरिनुपर्छ र त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ भन्ने र गर्ने गरेको एसएसपी शैलेश थापा बताउँछन् । प्रहरीले महिलाविरूद्ध हुने हिंसा निष्पक्ष अनुसन्धान गरी पीडकलाई कारबाही सुरू गरेका कारण महिलाहरूमा एक प्रकारको चेतना अभिवृद्धि भएको उनको भनाइ छ ।
‘प्रहरीको अनुसन्धानले गाउँ समाजमा यस्ता घटना गुपचुप रूपमा मिलाउने सम्भावना कम बन्दै गएको छ । र, महिलाहरूमा यस्ता घटना लुकाउन हुँदैन, कानूनी उपचार गर्नुपर्छ भन्ने चेतनाको अभिवृद्धि पनि भएको छ ।’, उनले भने, ‘सोचाइ परिवर्तन भएपछि प्रहरी कार्यालय आउने क्रम बढ्यो, पहिले बलात्कारका घटना लुकेको अवस्थामा थियो र कम देखिन्थ्यो, अहिले सतहमा आएका कारण बढेको देखिएको हो ।’
उनले अहिले बालबालिकाहरूले ल्यापटप, स्मार्ट फोन अत्याधिक रूपमा प्रयोग गर्ने र उनीहरूले के हेरिरहेका छन् त भन्ने कुरामा अभिभावकले चासो नदिँदा पनि कलिला बालबालिकामा यसको नकारात्मक असर पर्दा यस्ता घटना घट्ने स्पष्ट पारे । त्यस्तै परम्परागत रूपमा राखिएको अनुशासन, आचार व्यवहार, मर्यादाहरू क्रमश भंगित भइरहेका कारणले पनि जबरजस्ती करणीका केसहरू बढेको उनले बताए ।
बालिका, अशक्त तथा वृद्धाहरू शारिरिक रूपमा प्रतिकार गर्न नसक्ने भएकाले अभियुक्तहरूको नजर पर्ने गरेको अध्ययनले देखाएको छ । एसएसपी थापाको भनाइ अनुसार अभियुक्तहरू प्रायः मानसिक रूपमा विक्षिप्त हुँदैनन् । उनीहरू योजनाबद्ध रूपमा यस्ता कृयाकलापमा संलग्न हुन्छन् । ‘गत वर्ष हामीले जबरजस्ती करणीका १४८० मुद्दाहरू दर्ता गर्दा १३६६ जनालाई पक्राउ गरेर अदालत समक्ष पेश गर्योँ, जसमा अधिकांश अभियुक्तहरूले मानसिक रूपमा स्वस्थ रहँदै यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा पीडक बन्न पुगेको बयान दिएका थिए । त्यसैले जबरजस्ती करणीका अभियुक्तहरू मानसिक रूपमा विक्षिप्त हुनुपर्छ भन्ने जरूरी छैन ।’
अधिकांश अभियुक्तहरू पीडितका चिनजानका मान्छेहरू हुने कारण पनि अपराध भएपछि समाजमा थाहा हुन्न । अझैपनि गाउँघरतिर त्यस्ता घटना भए समाज बसेर मिलापत्र गराइन्छ । यसले पनि अपराधीको मनोवल बढेको हुन्छ । एउटा अपराधीलाई कानुनी दायरामा ल्याए समाजमा कानुन छ भन्ने आभाष हुन्छ । अरूले तुरून्तै त्यस्ता क्रियाकलाप गर्न आँट गर्दैनन् ।
यसलाई नियन्त्रण गर्नका लागि सर्वप्रथम त गाउँ समाजको भूमिका बलियो हुनुपर्यो । ‘परिवारले पनि बालबालिकालाई बढि हेरचाह दिनुपर्छ । राति ९–१० बजेसम्म पनि बच्चाहरू घर फर्किरहेका हुँदैनन्, बाबुआमाहरू भने ढुक्क भएर बस्नुभएको हुन्छ, त्यस्तो हुनु भएन । बच्चाहरूकहाँ जान्छन् के गर्छन् ख्याल राख्नुपर्यो’, उनले भने ।
सरकारले गाउँ, जिल्ला तथा शहरहरूमा व्यापक रूपमा जनचेतना अभियान फैलाउने, बालबालिका तथा महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी तालिमहरू गराउने हो भने पनि केही हदसम्म बलात्कारका घटना न्यूनिकरण गर्न सकिन्छ ।
समाजको सङ्किर्ण सोच र सरकारले बनाएका कानून सही ढंगले कार्यान्वयन गर्न नसक्दा पीडकहरू खुलेआम हिँड्ने गरेका छन् भने पीडितहरू लुकेर बस्नुपर्ने अवस्था छ । त्यसैले सरकार र कानूनको भूमिका पनि यसमा निकै सशक्त हुन आवश्यक छ । पीडकलाई भन्दा पनि पीडितलाई हौसला दिने खालको कानून बनाएमा मात्रै केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै सामाजिक सेवाका लागि सञ्चालनमा ल्याइएका एनजीओ आइएनजिओहरू पनि पीडितलाई सहानुभूति दिनतिर लाग्नु भन्दा पनि न्याय दिलाउनतिर लाग्नुपर्छ । कडा कानुनको व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानबिन तथा पीडितलाई न्याय तथा महिलामैत्री उजुरी प्रक्रिया बनाउने हो भने पनि यस्ता अपराधलाई न्यूनिकरण गर्न सकिन्छ ।








