छठ पर्वका कारण बिराटनगर दुर्गन्धित : स्थानिबासी रोगकाे शिकार

 

मंसिर २४, बिराटनगर । छठ पर्व सकिएको एक महिना बितिसक्दा पनि बिराटनगर महानगरपालिका भित्रका खोला, नहर तथा तलाउहरु अझैँ सरसफाई गरिएको छैन । छठ पर्वका बेला श्रृगार्न प्रयोग गरिएका केराका थम्बा, पुजा सामाग्रीलगायतका बिभिन्न वस्तुहरु पुजा सकिएपछि त्यही ठाउँमा छाडेर जाने भएकोले अहिले कुहिएर बिराटनगर दुर्गन्धित बनेको छ । 

 

null

छठपूजापछि त्यस ठाँउको सरसफाईमा कसैले ध्यान नदिँदा नहर छेउका बासिन्दाहरु झिंगा लागेर बस्न नसक्ने स्थितीमा पुगेका छन भने विभिन्न रोगको शिकार भएका छन् । छठ पर्व सकिएको अहिले ३ हप्ता भन्दा बढी भईसकेको छ तर ती ठाउँहरुमा न त महानगरपालिकाले सरसफाईको पहल गरेको छ न स्थानीयले नै । सरसफाई नहुँदा त्यो ठाउँ वरपर व्यापार गर्ने व्यापारी तथा स्थानियहरु चिन्तित बनेका छन् । छठ पछिको फोहोर व्यवस्थापन हुनु त परै जाओस अरु समयमा पनि वरपरका स्थानियले नहरमा फोहोर फ्याँकेर नहरलाई नै डम्पिङसाइट बनाउने गरेको सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर छेउका बासिन्दाहरु बताउँछन् । 

 

स्थानिय व्यपारी प्रमानन्द प्रयासले भने ‘छठको फोहर सफा गर्नु त परै जाओस त्यसमाथि स्थानियलेनै घरबाट निस्कने दैनिक फोहर नहरमै फ्यालेर दुर्गन्धित बनाउने गरेका छन् । दिउँसो अरुले देख्छन भनेर राती फोहर फ्याल्ने गरेका छन् । बिराटनगर महानगरपालिकाले उचित फोहर व्यवस्थापन गर्नु पर्ने हो तर त्यसै छाडेको छ ।’ त्यस्तै स्थानियबासी शुसिलादेवी सहनीले फोहरका कारण अत्याधिक दुर्गन्ध बढेको बताइन । उनले भनिन् ‘ जथाभावि नहर छेउछाउको फोहरले सवै दुर्गन्ध फैलिएको छ । 

दुर्गन्धले गर्दा बिरामी हुने त्रास हामीमा छ ।’ यस्तै बिराटनगर–११ का प्रमोद सहनीले पनि छठका सामग्रीले त्यसै दुर्गन्धित बनाइरहेका बेला स्थानियले अझ फोहर फ्यालेर थप दुर्गन्धित बनाउँदै आएको बताए । उनले भने ‘ छठ पुजा गरेर त्यसै फोहर फ्यालीरहेको अवस्था छ, त्यसमाथि स्थानीयले घरको फोहर समेत फ्यालेपछी नहर आसपासको क्षेत्र अति नै दुर्गन्धित बनेको छ । बिराटनगर महानगरपालिकाले फोहर व्यवस्थापनका लागि केही गरेको छैन । 

 

महानगरपालिकाले फोहर व्यवस्थापनका नाममा हामीसँग मासिक शुल्क लिएपनी सफा गर्दैन ।’ स्थानिय सरकारको हिसाबले फोहोर व्यवस्थापन महानगरको पहलमा हुनुपर्ने भएपनि महानगर भने मौन छ । यस सम्बन्धी महानगरले कुनै पहल गरेको देखिँदैन् । बिराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले सरसफाईको जिम्मा महानगरले लिने भएपनि अत्याधिक खर्च गरेर पर्व मनाउने र फोहोर गरेर जाने भएकाले यसको मुख्य जिम्मा स्थानिय तथा व्रतालु स्वयमले लिनुपर्ने बताए । 

सरसफाईको लागि महानगरले पहल गरिरहेको उनको भनाई छ । उनले भने ‘ वास्तवमा यो वार्षिक रुपमा तराईका जिल्लाहरुमा छठ पर्व मनाउँदा नदी, नहर, पोखरी लगायतका जलाशयमा पुजा गरिन्छ । बिराटनगरमा पनि वर्षेनी यो पर्व धुमधामका साथ मनाईन्छ । तर, यत्रो महान पर्व छठका लागि जतिपनि धर्म सँस्कृति सँग जोडिएका व्यक्तिहरु हुनुहुन्छ उहाँहरुले छठ मनाउन धेरै अगाडी ताम झामका साथ धेरै पैसा खर्चिदै आएको अवस्था छ । 

महानगरपालिकाले सरसफाईको जिम्मा लिनुपर्छ यसमा दुबिधा छैन तर जति ताम झमका हिसाबले छठ मनाईन्छ त्यसको व्यवस्थापनको जिम्मा पनि प्रथम त उहाँहरुलेनै लिनुपर्छ । पर्व मनाउन्जेल उहाँहरु व्यापक खर्च गरेर श्रोत साधन जुटाउने अनि भोलिपल्ट बिहानको सूर्यलाई अर्घ दिएर समापन गरेपश्चात सम्पूर्ण प्रसाद बाहेकका सामान त्यहिँ फ्यालेर हिँड्ने प्रवृतिका कारण यसले गर्दा विकराल अवस्था देखिएको हो । महानगरले आफ्नो हिसाबले यो फोहर व्यवस्थापन चाँडै गर्नेछ ।’ 

यसरी चाडपर्व सकिएको लामो समय भएपनि सरसफाई नहुनु र स्थानीयले घरबाट निस्किएको फोहोरसमेत नहरमै फ्याँक्ने हुँदा यस क्षेत्रवरपरका बासिन्दालाई प्रत्यक्ष असर परेको छ । यसले जनताको स्वास्थ्यमा गम्भिर असर पर्नुका साथै बरपर हिँड्नै नसक्नेगरी दुर्गन्ध फैलिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *