योगेशले भने, अध्यक्षद्वयको प्रतिवेदन भुत्ते र अस्पष्ट, गम्भीर लापरबाही भयाेः भीम रावल

पुस ३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा नेताहरुले आज पनि पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।
शनिबार (२९ मंसिरदेखि) जारी सत्तारुढ नेकपा स्थायी समितिको तेस्रो दिनको बैठकमा स्थायी समितिका ८ सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने क्रममा पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।
null
शनिबार पार्टीका दुई अध्यक्षका तर्फबाट संयुक्त रूपमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको तर्फबाट प्रस्तुत फरक मतमाथि सदस्यहरूले आफ्नो मत राख्दै उनीहरूले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
बैठकमा नेता भीम रावलले नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए । उनले सरकार सञ्चालनमा गम्भीर लापरबाही भइरहेको आरोप लगाए ।
अर्का नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदण्ड अनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेको भन्दै त्यसलाई रोकिनुपर्ने बताए ।
राजनीतिक प्रतिवेदनको स्पष्ट भिजन र दृष्टिकोण हुनुपर्छ भन्ने धारणा राख्दै उनले अध्यक्षद्वयको प्रतिवेदन वैचारिक रुपमा भुत्ते र अस्पष्ट भएको आरोप लगाए ।
सांसद भट्टराईले मापदण्ड बनाएर मात्र जिल्ला र स्थानीय तहमा एकता प्रक्रिया अघि बढाउनुपर्छ भने ।
आजको बैठकमा अध्यक्षद्धय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो धारणा राखेका थिए ।
स्थायी समिति बैठक बुधबार पनि बस्नेछ । बुधबार बिहान ८ बजे बोलाइएको बैठकमा पनि बाँकी नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन् ।








