विराटनगरको विकास निर्माणले व्यापार चौपट

 

मंसिर १९, विराटनगर । पछिल्लो समय विराटनगरमा भईरहेको अव्यवस्थित र सुस्तगतिको विकास निर्माणका कारण आफूहरुको व्यापार व्यवसाय चौपट बनेको स्थानीय व्यापारीले गुनासो गरेका छन् । 

जताततै अव्यवस्थित रुपमा महिनौदेखिको सडक, नालालगायतका विभिन्न विकास निर्माणका कारण आफूहरुको व्यापार व्यवसाय चौपट भएको उनीहरुको गुनासो छ । 

null

विराटनगरमा अहिले जोगबनी किमाङ्थान्का जोड्ने ६ लेनको सडक निर्माण भईरहेको छ भने भित्री सडकहरुमा क्षेत्रिय सहरी विकास परियोजना तथा मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजनाका कामहरु भईरहेका छन् । अव्यवस्थित रुपमा जताततै बाटो बन्द गरेर सडक तथा नालाहरु बनाइनु र यसबाट उत्पन्न हुने धुलोलाई व्यस्थित नगरिँदा त्यसको असर व्यवसायमा परेको उनीहरुले गुनासो गरे । 

 

सडक तथा नाला निर्माणका कारण जताततै धुलो हुने र बाटो बन्द जस्तै हुने भएपछि ग्राहकहरु आउन छाडेको उनीहरुको भनाइ छ । व्यवसायलाई ख्याल नगरीकन विकास निर्माणका कामहरु ढिलो र अव्यवस्थित रुपमा सञ्चालन भईरहेका कारण व्यवसायमा नराम्रो असर परेको विराटनगरका व्यापारीहरु बताउँछन् । 

 

विराटनगरका हार्डवेयर व्यवसायी सुरेस अग्रवालले विराटनगर महानगरपालिकाले वैकल्पिक योजना नबनाई विकासका नाममा जथाभावी सडक थुन्ने, भत्काउने र खाडल खन्ने गरेका कारण व्यापार व्यवसाय धरापमा परेको गुनासो गरे । ‘पसल भाडा मात्र महिनाको ५० हजार रुपैयाँ भन्दा बढी छ । विराटनगर महानगरपालिकाले जताततै खनेको छ, खाल्डो बनाएको छ । ग्राहक आउने बाटो समेत थुनि दिएको छ । यसले गर्दा हामी निकै मारमा परिरहेका छौँ’ उनले भने । 

 

अग्रवालले विकास हुनु सबैका लागि राम्रो कुरा भएतापनि विकल्प तयार नगरि हचुवाको भरमा भइरहेको संरचना भत्काएर हाम्रो व्यवपार व्यवसाय चौपट पारेको सुनाए । बिक्री नभएपछि कहाँबाट कोठा भाडा तिर्ने र कसरी व्यापार चलाउने भन्ने आफूलाई चिन्ता भएको बताए । ‘१५÷२० दिन देखी त बोहनी समेत गर्न पाएका छैनौँ’, उनले भने । 

अर्का व्यापारी रमेश अग्रवालले भने ‘व्यापारमा चाहीँ एकदमै असर गरेको छ । अब विकास पनि हुनुनै पर्छ । विराटनगर महानगरपालिकाले विकल्प समेत तयार गरेर काम अघि बढाएको भए राम्रो हुने थियो । अहिले विकासको काम भइरहेकाले विकासप्रति हामी खुशी छौँ तर व्यापार व्यवसाय ठप्प भएर निकै दुखित बनेका छौँ ।’ 

 

त्यस्तै विराटनगर शनिमन्दिर स्थित विराट फर्निसिङ हाउसका विश्वराज मगरले पनि विकास निर्माणका कामले व्यापार प्रभावित बनेको बताए । उनले जथाभावी सडक नाला भत्काइएका कारण ग्राहकहरु पसलमा आउनै छाडेको बताए । उनले भने ‘हिलोले गर्दाखेरी मान्छेहरु पसलमा छिर्नै मान्दैनन् । सबै हिँडेर आउने हुदैनन् सवारी साधनमा आउन सक्ने अवस्था छैन । झन यो मंसिर महिना लगनको सिजन हो तर जताततै भत्किएकाले व्यापार चौपट छ ।’ 

 

विराटनगरमा एसियाली विकास बैंकको सहयोगमा २ अर्ब ६१ करोड १० लाख रुपैयाँको लगानीमा भईरहेको क्षेत्रिय सहरी विकास परियोजनाको काम २०१९ नोभेम्बर १ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २ नोभेम्बर २०१७ बाट निर्माण सुरु गरिएको परियोजनाको हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ, जसकारण अझै लामो समय विराटनगरभित्र सडक निर्माणका कारण विभिन्न समस्या हुने देखिन्छ । 

विराटनगर महानगरपालिकाभित्र परियोजनाका कामहरु सन्तोषजनक तरिकाबाट भईरहेको जानकारी दिँदै विराटनगर महानगरपालिकाका परियोजना व्यवस्थापक भरतकुमार न्यौपानेले भने परियोजना क्षेत्रलाई धुलो धुवाँ मुक्त गर्ने अभियानमा आफुहरु रहेको बताए । 

 

‘अहिले वास्तवमा विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न भागमा विकास निर्माणका कामले केही हदसम्म समस्या भइरहेको हुन सक्छ ।’ उनले भने, ‘अब परियोजनाले विराटनगरकै मुहार फेर्ने भएकाले केही समय समस्या भएपनि दिर्घकालसम्म यसले विराटनगरको समाधान खोज्ने छ । जहाँ सम्म धुलो धुवाँ र हिलोको कुरा छ । त्यो न्यूनिकरणमा महानगरपालिका लागेकै छ ।’ 

विराटनगरमा अव्यवस्थित विकास निर्माणले अन्य क्षेत्रलाई पर्ने असर ख्याल नगर्दा स्थानीय जनता, व्यापारी लगायतलाई भने दैनिक ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *