काँग्रेस बैठकः बुधबार पनि परिमार्जित विधान मस्यौदाबारे छलफल जारी
मंसिर १९, काठमाडौँ । नेपाली काँग्रेसको प्रस्तावित विधान संशोधनका विषयमा आज (बुधबार) पनि छलफल जारी रहने भएको छ ।
मंसिर १३ गतेदेखि जारी काँग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जन गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ। आजको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावित विधानको मस्यौदाबारे छलफल हुने बताइएको छ ।
null
उक्त विधान मस्यौदामा सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।
पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।
आजको बैठकमा सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेस हुने काँग्रेसले जनाएको छ ।