निर्माण सम्पन्न भएपनि बिराटनगर बस टर्मिनल अझै सञ्चालनमा आउन सकेन

 

मंसिर १६, बिराटनगर । गएको साउन महिनाको पहिलो सातानै निर्माण सम्पन्न भएपश्चात बिराटनगर महानगरपालिकालाई हस्तानान्तण गरेर सञ्चालनमा आउने भनिएको अत्याधुनिक सुविधा सम्पन्न बिराटनगर बस टर्मिनल अझै सम्म पनि सञ्चालनमा आउन सकेको छैन । 

वस टर्मिनल निर्माण अघि सामान्य वर्षामै हिलाम्मे र वर्षा नहुँदा धुलाम्ये हुने विराटनगर बसपार्क यतिबेला निर्माण सम्पन्न भएर मुहारनै फेरिए पनि विराटनगर महानगरको ढिला सुस्ति र छ लेन सडकले निर्माण गर्ने ढलका कारण सो वस टर्मिनल सञ्चालनमा आउन नसकेको हो । अत्याधुनिक सुबिधा सम्पन्न अढाइ तले भवन सहितको बस टर्मिनल निर्माणका सवै काम गएको साउन महिनामै सम्पन्न भएको थियो । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । 

null

 

उक्त कम्पनीले बस टर्मिनलको सवै काम सम्पन्न गरिसकेको छ । निर्माण सम्पन्न गरेर हस्तानन्तरणका लागि ठेकेदार कम्पनीले विराटनगर महानगरपालिकालाई पत्राचार समेत गरिसकेको गौरी पार्वती निर्माण सेवाका साइट इन्चार्ज सुदर्शन थापाले बताए । उनले भने ‘हाम्रो ठेकेदार कम्पनीबाट काम सबै सकईसकेको छ । टर्मिनल अगाडी छ लेन सडकको  ड्रेन बनि रहेको छ, जसले गर्दा यातायतातका साधन टर्मिनलमा छिर्न सकेका छैनन् । 

 

काम सकिएको छ तर हामीले पर्खिएर वस्नु परेको छ । हाम्रो काम हामीले करिब करिब जेठ महिनामै सम्पन्न गरिसकेका छौँ । महानगरलाई हामीले छिटो लिइदिनु पर्याे भनेर अनुरोध गरिरहेका छौँ । हामीले चाँही हस्तानान्तरण गर्नका लागि आधिकारीक चिठी समेत दिईसकेका छौँ ।’ 

यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने आगामी पुस महिनाको दोस्रो साता भित्र वस टर्मिनलको उद्घाटन गरिने दावी गरे । उनले वस टर्मिनल क्षेत्रमा अहिले छ लेनको सडक अन्तर्गत ढल निर्माणको काम भइरहेकाले टर्मिनल सञ्चालनमा ल्याउन समस्या भइरहेको बताए । 

 

उनले भने ‘ हामीले पुसको पहिलो वा दोस्रो हप्ता उद्घाटन गर्ने भनेका छौँ । जुन छ लेनको सडक निर्माण भइरहेको छ कोशी राजमार्गमा त्यो सडक अन्तर्गत वस टर्मिनल क्षेत्रमा नाला निर्माणको काम भइरहेकाले समस्या भएको हो । अहिले अगाडीको ड्रेन हरु पुरा नगरिएको हुनाले त्यो टर्मिनलको मुखको डे«न महानगरपालिका अन्तर्गत पर्दैन । सडक बिभागले गर्ने काम भएकाले काम नसकिएकाले समस्या भएको हो । हामीले पहल थालेका छौँ । 

 

हामी बनेको अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल हप्ता दिन भित्र सञ्चालनमा ल्याउँछौँ ।’ठेकेदारले निर्माण गरेको बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने बिराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको विराटनगर महानगरपालिकाका मेयर पराजुलीले जानकारी दिए । 

यस अघि वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले बस टर्मिनल निर्माण पछि राहत पाउने आशा गरेपनि निमार्ण सम्पन्नपछि समेत सञ्चालनमा आउन नसक्दा निरास बनेका छन् । पूर्व नेपाल यातायात व्यवसायी कम्पनी प्रा.लि. का अध्यक्ष राजन कँडेलले वस टर्मिनल निर्माण सकिएपनि सञ्चालनमा नआउँदा समस्या भईरहेको बताए । 

उनले भने ‘ धेरै वर्षदेखी हामीले समस्या झेल्दैँ आउनु परेको छ । वस टर्मिनल निर्माण भएपछी पहिले हिलो र धुलोले निकै समस्या पार्दै आएको थियो । वस पार्क अव्यवस्थित थियो तर आधुनिक वस टर्मिनल निर्माण सम्पन्न पश्चात यातायात व्यवसायी र यात्रुले झेल्दैँ आउँनु परेका समस्या समाधान हुने थियो भन्ने लागेको थियो तर निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसक्नु एकदमै दुखदायी विषय हो । 

अब अहिले पनि सडकमै गाडी लगाउनु परेको छ । बिराटनगरको ठुलो समस्या बस पार्क वा टर्मिनलनै हो त्यसैले सम्वन्धित निकायले यसलाई चाँडै सञ्चालनमा ल्याईओस ।’ बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुनेछन् । 

पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने छ । यो बस टर्मिनल पूर्व क्षेत्रकै सुविधा सम्पन्न र नमुना हुने दावी गरिएको छ । यस्तो सुविधा सम्पन्न वस टर्मिनल निर्माण सम्पन्न भईसकेपनि चाँडै सञ्चालनमा आउँन नसक्दा यातायातका साधनहरुले अव्यवस्थित रुपमा यात्रु चढाउने र ओराल्नु पर्ने बाध्यता छ । बस पार्किङ पनि सडकमै र अव्यवस्थित हुँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *