अध्यक्ष प्रचण्डले भने, खटाएको ठाउँमा नजाने कर्मचारीलाई बिदाइ गरिन्छ

पुस १३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बदाइ गर्ने बताएका छन् ।
शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्तीमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्र सेवकहरु संविधानको भावना, मर्म र ऐन कानुनको व्यवस्था अनुसार सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए ।
null
‘राष्ट्र सेवकहरु देशको कुनै पनि भेगमा सरकारले खटाएको ठाउँमा जानुपर्छ । जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर संविधान कार्यान्वयनतिर लाग्नुपर्छ,’ प्रचण्डले भने ।
साढे २ सय वर्षदेखि रहेको राजनीतिक पद्धति अन्त्य गरेर नयाँ संरचना सेट गर्न समय लाग्ने प्रचण्डको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले पैसा अभावमा उपचार गर्न नसके राज्यले उपचार गरिदिनुपर्ने उल्लेख गरे । ‘राज्यले उपचार गरिदिएन भने तपाईं अदालत जान सक्नुहुन्छ।’ उनले भने ।
त्यस्तै प्रचण्डले पार्टीको स्थायी समितिको बैठक पनि लोकतान्त्रिक वातावरणमा छलफल गरेर सफलताका साथ समापन गरेको जानकारी दिए । उनले पुस महिनाभित्र देशैभरी सबै तहसम्म पार्टी एकताका लागि जनसंगठनको एकता गर्ने निर्णय गरिएको बताए ।








