ललितपुरको पहिलो जित, चितवन ११ रनले पराजित
मंसिर २३, काठमाडौं । ललितपुर प्याट्रीयट्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जित हात पारेको हो।
null
ललितपुरले दिएको १४४ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन जोड्न सक्यो।
चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे भने कप्तान पृथु बास्कोटाले २६ तथा भिम सार्कीले २१ रन जोडे । दिपेन्द्रले ४५ बल खेलेका उनले १ छक्का र ३ चौका प्रहार गरे।
ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाएको थियो । ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए । यस्तै सन्दीप जोरा ८ बलमा २५ रन जोडेर अविजित रहे ।
त्यस्तै गौरव तामोरले ३० रन जोड्दा जयकिशन कोल्शावालाले २० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा आउट हुँदा सन्नी पटेलले १९ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए ।
जितसंगै ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । शनिबार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो । चितवनले भने हारबाट लिगको सुरुवात गरेको छ ।