नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छः मन्त्री अधिकारी


मंसिर १९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमलाई कमजोर पार्ने खेलमा लाग्न नहुने बताएका छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालको मंगलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले निगमका सन्दर्भमा उठेका विषयको छानविन गरी जनता समक्ष ल्याइने उल्लेख गरे ।
null
युरोपेली सङ्घ (इयू) ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गर्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मातहतको इयूले नेपाललाई कालोसूचीमा राख्नुपर्ने कुनै औचित्य नभएको बताए ।
उनले भने, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।”
इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ ।
यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।
