युक्रेनको पूर्वमा चुनाव, पश्चिममा राष्ट्र र किभको विरोध

कात्तिक २५, युक्रेन । विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले युक्रेनी शान्ति वार्तालाई नोक्सान नगर्न मस्कोसँग पटक–पटक आग्रह गरे पनि रुसी समर्थक विद्रोहीले चुनाव गराएका हुन् । 

वासिङ्टन र ब्रसेल्सले युक्रेनको औद्योगिक क्षेत्रहरु रहेको डोनेस्क र लुगान्स्क “जनगणतन्त्र”मा हुने निर्वाचनले द्वन्द्वको शान्तिपूर्ण समाधान गर्ने प्रयत्नमा कठिनाइ आउने बताएका छन् । सन् २०१४ यता भड्किएको पृथकतावादी युद्धका क्रममा १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

युरोपेली युनियनका वैदेशिक नीति प्रमुख फेडेरिका मोघेरिनीले युरोपले यो निर्वाचनलाई अवैध र गैरकानुनी ठहर गर्दै यसलाई मान्यता दिन नसक्ने बताए । 

null

“यो निर्वाचन एक किसिमले लोकतन्त्रमाथिकै मजाक हो,” युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्त भोल्करले बताए । गत साता उनले भनेका छन्, “हामी रसियालाई यो निर्वाचन रोक्नका लागि आग्रह गर्दछौं । ” 

उनले यो निर्वाचन पश्चिमा मुलुकहरुको प्रयासमा भएको शान्ति सम्झौताको बर्खिलाप हो भने । 

तर रसियाले यो आग्रहलाई अस्वीकार गरेको छ । रसियाले मतदानले विगतका कुनै पनि सम्झौतालाई असर नगर्ने स्पष्ट गरेको छ । 

मस्कोको भनाइमा गत अगस्टमा डोनेस्क क्याफेमा भएको बम हमलामा डोनेस्क गणतन्त्रका नेता अलेक्जान्डर जाखारचेन्कोको मृत्यु भएपछि रिक्त स्थानमा नयाँ नेतृत्व आवश्यक छ । “मानिसलाई शान्तिसँग बाँच्न र बस्न तथा युक्रेनी अधिकारीहरुले सैन्यबलको प्रयोग गर्ने निरन्तरको धम्की एवं नाकाबन्दीको अवस्थामा शान्ति सुव्यवस्था कायम राख्न नयाँ नेतृत्व आवश्यक छ,” रसियाका विदेशमन्त्रीका प्रवक्ता मारिया जाखारोभाले बताए । 

सन् २०१४ मा रसियाले क्रिमियालाई रसियामा गाभेको थियो भने युक्रेनको पूर्वी क्षेत्रमा भड्किएको हिंसालाई समर्थन गरेको थियो । पश्चिमा मुलुकको समर्थन गरेकै कारण युक्रेनमाथि रसियाले यस्तो कदम चालेको युक्रेनको भनाइ छ । 

भिषण युद्ध हालका दिनहरुमा रोकिए पनि सानोतिनो द्वन्द्वले सुरक्षाफौज र आम नागरिकको ज्यान जानेक्रम रोकिएको छैन । विगतमा भएको बहुपक्षीय शान्ति सम्झौताहरु समेत अहिले मृततुल्य अवस्थामा पुगेको विश्लेषकहरुको भनाइ छ । 

जाखारचेन्कोको हत्या पश्चात ३७ वर्षीय डेनिस पुसिलिनले नै यस पटकको चुनाव जित्ने अनुमान गरिएको छ । उनी कट्टर रसिया समर्थक हुन् । 

त्यस्तै लुगान्स्क गणतन्त्रका कार्यवाहक नेता ४८ वर्षीय लिओनिद पासेक्चनिकले लुगान्स्कको चुनाव जित्ने लगभग पक्का छ । दुवै नेताले मस्कोसँगको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने सार्वजनिक घोषणा गरिसकेका छन् । 

डोनेस्कमा भेटिएका पोस्टरहरुमा रसियालाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरिएका छन् । 

तर कतिपय स्थानीयबासीले उम्मेदवारहरुको यस्तो रबैयाप्रति आलोचना गरेका छन् । उनीहरुको मसिनो स्वरलाई सबैले बेवास्ता गरेका छन् । 

एकजना ५० वर्षीय डोनेस्क निवासी युरीले भने, “दुई महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका र रसियाले हाम्रा ठाउँहरु विभाजन गरिरहेका छन् । आशा अझ हराउँदै गएको छ ।” 

पछिल्लो पटक सन् २०१४ मा पश्चिमा मुलुकहरु र किभको विरोध भएपनि पृथकतावाद निर्वाचन भएको थियो । पश्चिमा मुलुक र किभले यो निर्वाचनलाई पनि मान्यता दिएका थिएनन् । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *