गृहमन्त्रीकै अगाडि किन गरे कुसुमले विष सेवन ?

मंसिर ६, काठमाडौँ । जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा जनयुद्धका घाइते कुलप्रसाद भट्टराई ‘कुसुम’ ले गृहमन्त्री रामबहादुर थापाकै अगाडि बुधबार विष सेवन गरे ।
गृहमन्त्री थापालाई भेट्न हिजो (बुधबार) गृहमन्त्रालय पुगेका कुसुमले दिउँसो ३ बजेतिर विष सेवन गरेका हुन् ।
कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–६ स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र छर्रा समेत रहेका छन् । गृहमन्त्री थापालाई भेट्न पुगेका कुशुमले केही बेर गृहमन्त्रीसँग कुरा गरेपछि विष सेवन गरेका थिए ।
null
उनीलाई अयोग्य घोषित गर्दै ब्यारेकबाट घर फर्काइएको थियो । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य समेत रहेका कुसुमले उपचारको लागि सरकारसँग पटकपटक आग्रह गरेका थिए । तर, कुनै सुनुवाई भएको थिएन । संगठनले बहिर्गमित जनमुक्ति सेनाको उपचारको लागि सरकारसँग माग राख्दै लामो समयदेखि संघर्षरत छ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय महासचिव राजन थापा ‘सुवास’ का अनुसार बुधबार पनि कुसुमले गृहमन्त्रीसँग आफ्नो उपचारको लागि आग्रह गरेका थिए । तर, फेरि आश्वासन मात्रै पाएपछि मन्त्रालयभित्र गृहमन्त्रीकै अगाडि खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।
विष सेवनबाट घाइते भएका कुसुमलाई तत्काल वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको तर आईसियु खाली नभएकोले महाराजगञ्जस्थित प्रहरी अस्तापलमा भर्ना गरिएको थियो । इमर्जेन्सीमा डा. नविन चौधरीले हेरका थिए भने आइसियुमा डा. सक्षम केसीको टोलीले हेरिरहेको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष प्रदीप कार्कीले जनयुद्ध लडेको योद्धा उपचार नपाएर विष सेवन गर्नुपर्ने अवस्था दुःखद् भएको बताए । उनले जसको रगतले नेताहरु राज्य सञ्चालनमा पुगे तर उनीहरुले नै जनयुद्धका घाइतेलाई बेवास्ता भएको भन्दै दुःख व्यक्त गरे ।
कुसुमले आत्महत्या गर्ने उद्देश्यले नै विष सेवन गरेको उनका सहकर्मीहरु बताउँछन् । उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उपचार हुन सकेको थिएन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार कुसुमको स्वस्थ्य अवस्था विस्तारै सुधार भइरहेको छ ।








