युरोपियन च्याम्पियन्स लिग फुटबलः यस्ता छन् अाजका खेलहरू

मंसिर १२, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत पाँचौं हप्ताका ८ खेल हुँदैछन् । अघिल्लो दिन ८ खेल भएपछि आज ८ खेल हुन लागेका हुन् । 

आज हुने ८ खेलमध्ये केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । जसमा आजको एक खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र फ्रेन्च क्लब मोनाको खेल्दैछन् । समूह ‘ए’ अन्तर्गतको यो खेल मोनाकोका लागि भने औपचारिकता मात्रै हुनेछ । किनभने, उसको खातामा अहिले १ अंक मात्रै रहेकाले उसको अन्तिम १६ को सम्भावना बन्द भइसकेको छ । यस समूहमा हाल जर्मन क्लब बोरुसिया डर्टमुन्ड र एथ्लेटिको समान ९–९ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्लब ब्रुगी ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

अर्को खेलमा फ्रेन्च क्लब पिएसजी र लिभरपुलको भिडन्त हुँदैछ । समूह ‘सी’ अन्तर्गतको यो खेल आज दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । हाल अंक तालिकामा इटालियन नापोली ६ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल समान ६ अंकसहित दोस्रो स्थानमा छ भने पिएसजी ५ अंकका साथ तेस्रो स्थानमा छ । ४ अंक भएको रेड स्टार बेलग्रेड चौथोमा छ । लिभरपुल र पिएसजीको खेल आज धेरै हदसम्म दुवैका लागि निर्णायक हुनेछ । 

null

आज हुने अर्को खेलमा नापोली र रेड स्टार बेलग्रेड खेल्दैछन् । यी दुई टोली पनि समूह ‘सी’ मै छन् । आज यी दुवै टोलीका लागि यो खेल अर्को चरण जान महत्त्वपूर्ण हुनेछ । 

आजको अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम र इटालियन इन्टर मिलान खेल्दैछन् । टोटनह्यामको घरमा हुने यो खेल विशेष गरी टोटनह्यामका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि बार्सिलोना अन्तिम २ खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गरिसकेकाले समूह ‘बी’बाट अर्को चरण जान मिलान र टोटह्यामबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस खेलमा मिलान विजयी भए अन्तिम खेलअघि नै अन्तिम १६ मा जानेछ भने टोटनह्याम विजयी भए उसको पनि अर्को चरणको ढोका खुला हुनेछ । त्यसपछि दुवैले अन्तिम खेलबाट संघर्ष गर्नुपर्ने हुन्छ ।  

अर्को खेलमा पिएसभी इन्ढोभेन र बार्सिलोना खेल्दैछन् । बार्सिलोना यसअघि नै अन्तिम १६ मा पुगिसकेको हुँदा र पिएसभीको खातामा २ खेल बाँकी छँदा १ अंक मात्रै रहेकाले उसको अर्को चरणका ढोका बन्द भइसकेको छ । तसर्थ, यी दुईको खेलको नतिजाले दुवै टोलीलाई फरक पार्नेछैन । 

आज हुने सुरुआती २ खेलमा लोकोमोटिभ मोस्कोविरुद्ध गालाटासरी तथा एथ्लेटिको मड्रिडविरुद्ध मोनाकोको खेल एकै समय राति ११ः४० बजेबाट सुरु हुनेछ । त्यसपछि १ः४५ बजे बोरुसिया डर्टमुन्डविरुद्ध क्लब ब्रुगी, पिएसजीवरुद्ध लिभरपुल, नापोलीविरुद्ध रेड स्टार बेलग्रेड, पिएसभी इन्ढोभेनविरुद्ध बार्सिलोना, पोर्टोविरुद्ध शाल्के र टोटनह्यामविरुद्ध इन्टर मिलानको खेल एकै समय सुरू हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *