नोेबेलले गर्यो रेकर्ड ब्रेकः नेपालमै पहिलो पटक ९५ वर्षीय वृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित)

कात्तिक १८, विराटनगर । नोबेल शिक्षण अस्पतालले ९५ वर्षीय वृद्धको मुटुमा पेसमेकर अर्थात् विद्युतिय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाइएको हो । 

पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका व्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवम् मुटु रोग विशेषज्ञ डा.राजेश नेपालको दाबी छ । ‘नेपालमा यत्ति धेरै बृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन ।’ 

डा.नेपाल भन्छन्, ‘९५ वर्षीय बृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।’ 

null

 

यता राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोसन राउतले ९० वर्ष हाराहारिका कतिपय बृद्धबृद्धालाई पेसमेकर राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको छ भन्ने यकिन नभएको बताए । 

बयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिब ६० देखि १०० पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । 

यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा विधुतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउन सहयोग गर्छ । 

जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० वर्ष उमेरका व्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको पाइन्छ । 

मुटुरोगको उपचार गर्दै आएका राजधानीका केहि अस्पतालमा ९० बर्ष हाराहारीका बृद्धबृद्धालाई पेसमेकर राखिएको बिरलै मात्र भेटिएको छ । तर, नोबेलले ९५ वर्षका बृद्धलाई सफलतापूर्वक पेसमेकर राखेर निको बनाएको हो । 

नोबेल अस्पतालको शैय्यामा भेटिएका वृद्ध देवानले आफूलाई पहिलेको तुलनामा धेरै सन्चो भएको प्रतिक्रिया दिए । ‘पहिले त मरिहालिन्छ कि जस्तो भएको थियो । तर, अहिले धेरै ठिक भएको छ ।’ देवानले भने । 

पेसमेकर लगाउँदा छातिमा चिरेर ब्याट्री राख्ने गरिन्छ । धेरै वृद्ध व्यक्तीको छाला कमजोर हुने भएकाले चिरेको ठाउँमा सिलाई गर्न गाह्रो हुने र घाउ निको हुन गाह्रो पर्ने हुँदा समस्या हुन्छ । वृद्धावस्थामा अन्य रोगहरुको पनि संक्रमण हुने भएकाले थप जटिल हुने र अप्रेशन असफल भए बिरामीको मृत्यु हुन सक्ने खतरा बढी भएतापनि नोबेलले देवानलाई निको बनाएपछि उनका आफन्त पनि हर्षित छन् । 

 

‘बुवालाई ठिक होला कि नहोला भनेर धेरै डर लागेको थियो । तर, राम्रो उपचार पाएर अहिले बुवाको अवस्था धेरै सुधार भएको छ ।’ छोरा गोपालले खुशी हुँदै भने, ‘जुन विश्वास गरेर नोबेल आएका थियाैँ, त्यस्तै राम्रो उपचार पायाैँ ।’ उपचार पश्चात् निको भएर देवान अहिले घर फर्किएका छन् । 

नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याब सञ्चालन गरी मुटुको चाल गढबढी भएका बिरामीहरुलाई उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी विश्वकै दुर्लभ र जटिल रोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको छ । 

स्तरीय डाक्टर र अत्याधुनिक उपकरणको व्यवस्थापनका कारण गुणस्तरीय उपचारका क्षेत्रमा नोबेल अस्पताल अब्बल सावित भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाइ छ । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *