कांग्रेसले सार्वजनिक गर्‍यो फरक मतसहितको विधान मस्यौदा

मंसिर ९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको कार्यसमितिको बैठकमा फरक मतसहितको विधान मस्यौदा पेश गरिएकाे छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गरेका हुन् । 

पार्टीका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टी नेता, कार्यकर्तासँग छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रीय कार्य समितिमा पेश गरिएकाे हो । 

null

विधान संशोधन मस्यौदा अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुनेछ । 

काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । 

प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । 

संवैधानिक व्यवस्था अनुसार पार्टीको सम्पूर्ण संरचना बनाउने गरी विधान संशोधन मस्यौदा तयार पारिएको छ। मस्यौदामा ‘एक व्यक्ति, एक पद’को प्रस्ताव गरिएको छ। दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने गरी विधानमा सो प्रस्ताव गरिएको हो । 

हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ । 

त्यस्तै काङ्ग्रेसले पार्टीका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहका हुने गरी विधान मस्यौदा तयार गरेको छ । 

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ। 

समितिले मूल मस्यौदा प्रतिवेदनसँगै समिति सदस्यका फरकमतलाई पनि समावेश गरी बैठकमा पेश गरिएको छ । प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको छ । 

मस्यौदामा सबैभन्दा मुनि टोलस्तरमा पार्टीको कार्यसमिति हुनेछ । पाँचसय देखि एक हजार ५०० जनसङ्ख्या बसोबास रहेको बस्तीमा गाउँटोल कार्यसमिति रहनेछ । त्यसभन्दा माथि वडासमिति, त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना हुनेछन् । 

काङ्ग्रेसको गत वैशाख १६ गतेको बैठकले विधान संशोधन गर्न महामन्त्री खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

समितिले मुलुकभर १२ स्थानमा पार्टीका सरोकारवाला सबै निकाय र व्यक्तिसँग छलफल गरी सुझाव सङ्कलन गरेको थियो । विभिन्न छलफल मार्फत सुझाव सङ्कलन गरी शनिबार मात्रै मस्यौदा पारित गरेको समिति प्रवक्ता लेखकले जानकारी दिनुभयो । 

विधान संशोधनपछि काङ्ग्रेस आधुनिक, पूर्ण समावेशी र प्रभावशाली दलका रूपमा स्थापित हुने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय निर्वाचन समिति, लेखा समिति, अनुशासन समिति थप परिमार्जन गरिएको जानकारी दिए । 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यलाई मस्यौदा अध्ययनका लागि ३ दिनको समय उपलब्ध गराउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

३ महिना लामो छलफलपछि तयार पारिएको सो प्रस्तावमाथि छलफल गर्न कांग्रेसले आगामी बिहीबार १३ गते पुनः केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। 

मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *