फनपार्क निर्माण नरोकिए चरणबद्ध संघर्षको चेतावनी
कात्तिक २८, धरान । भोगाधिकार मात्र पाएको जग्गामा फनपार्क निर्माण गर्न डिपोट स्कुलले जग्गा भाडामा लगाएको विषय सार्वजनिक भएपछि स्कुलको निर्णयप्रति चौतर्फि विरोध बढेको छ ।
धरान स्थित डिपो उच्च माविले कौडीको भाउमा वीपी प्रतिष्ठान मातहतको सरकारी जग्गा ३० वर्षका लागि स्थानीय ब्यापारी घराना इजिराइडर विजनेश ग्रुप लाई फनपार्क बनाउन दिएपछि स्थानीय राजनीतिक दलदेखि युवा संघ, तथा भूपू व्रिटिस आर्मीका परिवारले समेत विरोध जनाउँदै सम्झौता रद्द गर्नुपर्ने माग गरेका हुन् ।
स्कूलको जग्गा लिजमा दिने अधिकार स्कुल लाई नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, विद्यार्थीहरुले पनि विरोध जनाउँदै सम्झौता खारेज गर्न माग गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रको पालामा गठित मन्त्रिपरिषद्को निर्णयले प्रतिष्ठान मातहतको १३ विगाहा १० कठ्ठा ६ धुर जग्गा डिपोटलाई भोगाधिकार गर्न नामसारी गरिदिए पनि स्कूलले उक्त जग्गा मध्ये ३ विगाहा लिजमा दिइएको छ ।
null
सोमवार प्रतिष्ठानका कर्मचारी कल्याण समिति, विद्यार्थी सम्बद्ध कल्याण समितिले संयुक्त विज्ञप्ती जारी गर्दै डिपो स्कुललाई उक्त जग्गामा भोगाधिकार भएको तर अर्कोलाई लिजमा दिने अधिकार नभएको भन्दै आपत्ति जनाएका छन् । ‘सरकारले विद्यालयको प्रयोजनका निम्ति भोगाधिकार अर्थात उपभोग गर्न मात्र अधिकार दिएको जग्गा प्रतिष्ठान हाताभित्र रहेको डिपोट स्कूलले प्रतिष्ठान र नेपाल सरकारको सहमति विना तेस्रो पक्षलाई फन पार्क निर्माणका निम्ति ३० वर्षे लीजमा दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
विद्यालयको पूर्जामा समेत स्पष्ट रुपमा भोगाधिकार मात्र रहने भनि उल्लेख गर्दै प्रतिष्ठानको पूर्जामा उक्त जग्गा कायमै रहेको देखाइएको छ । विज्ञप्ती कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ, डेन्टल फ्याकल्टीका डा.मधुर बस्नेत, जुनियर रेसिडेन्टका डा.कविराज पौडेल, विद्यार्थीका डा.अभिषेक अमरले जारी गरेका छन् ।
यसैगरी जग्गा लिजमा दिने विषयमा आपत्ति जनाउँदै धरान उपमहानगरपालिका, ब्रिटिश गोर्खा भूपू सैनिक एकता समाज र बिपी प्रतिष्ठानस्थित संगठनका प्रतिनिधिहरुले संयुक्तरुपमा अनुगमन समेत गरेका छन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुुवेदीको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षण गरी विद्यालय र अस्पतालको शैक्षिक वातावरण नै विथोल्नेगरी फनपार्क बनाउन नहुने भन्दै सम्झौता रद्द गर्नुपर्ने माग गरे ।
टोलीले पार्कको अनुगमन गर्नुअघि डिपोट स्कुलका प्रिन्सिपल एवं सञ्चालक समिति सदस्य सचिव राजकुमार राईलाई भेटेर भोगाधिकार मात्र पाएको जग्गा ३० बर्षको लागि लिजमा दिने र शैक्षिक वातावरणलाई नै असर पर्ने गरी विना इजाजत निर्माण भइरहेको फनपार्कको सम्झौता रद्द गर्न आग्रह गरेका थिए ।
उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख भण्डारीले विद्यालयका लागि आवश्यक पूर्वाधार बनाउन आग्रह गर्दै विद्यार्थीको पढाईलाई नै प्रभावित बनाउने फनपार्क बनाउन नहुने बताइन् । ‘होस्टल बनाउनुस, खेल मैदान बनाउनुस, यसमा कसैले आपत्ति जनाउँदैन, तर विद्यार्थीको पढाईलाई नै असर गर्ने गरी अरुलाई लिजमा दिएर संरचना बनाउन मिल्दैन ।’ भण्डारीले भनिन् ।
अनुगमनमा वीपी प्रतिष्ठान कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले सम्झौता रद्द नभए आफुहरु चरणबद्ध संघर्षमा उत्रने चेतावनी दिँदै भने–‘प्रतिष्ठान र डिपोटबीच भएको सम्झौता, प्रतिष्ठानको सिनेट बैठकको निर्णय, मन्त्रीपरिषदको निर्णय, भुमिसुधार मन्त्रालयको निर्णय सबैले डिपोटलाई विसुद्ध शैक्षिक प्रयोजनको लागि भोग गर्ने अधिकार मात्र दिएको प्रष्ट छ, बाहिर अरुलाई लिजमा दिन मिल्ने कुरा छैन ।’ तामाङले त्यसबेलाको सम्झौतामा विद्यालय सञ्चालन हुन नसके जग्गा र संरचनाहरु समेत प्रतिष्ठान मातहतमा रहने प्रष्ट उल्लेख भएको जिकिर गर्दै शैक्षिक प्रयोजनमा वाहेक अन्य ब्यापारीक घरानालाई भाडामा दिन नमिल्ने ठोकूवा गरे ।
वीपी प्रतिष्ठानका फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा. मधुर बस्नेतले डिपोट र इजिराइडर कम्पनीबीचको सम्झौतामा नर्सिङ होम, होटल, रेष्टुरेष्ट, रिसोर्ट, पेट्रोल पम्पलगायत चलाउन सक्ने भनिएकोले भविष्यमा बिपी र डिपोट दुवैको लागि त्यसले ठूलो असर पर्ने बताए । उनले धरानमा फनपार्क आवश्यक भएपनि अस्पताल र विद्यालय जस्तो क्षेत्रमा निर्माण गर्न नहुने बताए ।
अनुगमनमा बिपी प्रतिष्ठानस्थित मेडिकल एण्ड डेन्टल वेल्फेयर सोसाइटी, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी, भूपू विद्यार्थी संघ, भूपू सैनिक एकता समाजमा अध्यक्ष गजेन्द्र इस्पो, धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा, वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
डिपोटका प्रिन्सिपल एवं सञ्चालक समितिका सदस्य सचिव राजकुमार राईले भोगाधिकार पाएको जग्गा लिजमा दिन सम्झौता भइसकेको र निर्माण कार्य समेत भइरहेकोले अब के गर्ने अन्यौल भएको भएपनि यो बिषयमा सञ्चालक समितिमा कुरा राखेर अगाडी बढ्ने बताए ।
फनपार्क निर्माणको लागि सम्झौता गरेको कम्पनी धरानका ब्यापारी चन्द्रबहादुर खापुङको हो । उनले धरानमा सुनपसल, होटल, पशुपालन, खानेपानी उद्योग सञ्चालन गर्दै आइरहेका छन्, भने उनका छोरा लोक खापुङले धादिङ लगायतका स्थानमा क्रसर उद्योग सञ्चालन समेत गर्दै आइरहेका छन् । फनपार्क निर्माणमा खापुङ परिवारसँगै धरान मण्टेश्वरीका सञ्चालक दीपक अग्रवाल लगायत अन्य केहि ब्यापारीहरु समेत छन् ।