पूर्वाधार तयार गरेर १ नं. प्रदेशको स्थायी राजधानी दुहवीलाई बनाउनुपर्छः भगवती चौधरी

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भगवती चौधरीले १ नं. प्रदेशको राजधानी र नामाकरण जनताको अभिमत लिएर सबैलाई स्विकार्य हुनेगरी राख्नुपर्ने बताएकी छिन् । मकालु खबरसँग कुराकानी गर्दै पूर्व राज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले स्थायी राजधानी बनाउने विषयमा हाललाई विराटनगरलाई नै राजधानी कायम गरी अर्को स्थानमा पूर्वाधार निर्माण गरेर स्थायी राजधानी कायम गर्नुपर्ने बताइन् । प्रस्तुत छ, यीनै सन्दर्भमा नेतृ चौधरीसँग गरीएको कुराकानीको संक्षेपः  

 

अहिले प्रदेश १ मा राजधानी र नामाकरणको विषय अत्यन्त चर्किएको अवस्था छ, यो विषयलाई कसरी हेर्नुभएको छ ?  

null

प्रदेश नं. १ को स्थायी राजधानी बनाउने र नाम राख्ने विषयमा जे जस्ता वहसहरु भईरहेछन्, त्यसमा सबैले आ–आफ्ना स्थान र क्षेत्रबाट लविङ गरीरहेको देखेको छु । सबैले आ–आफ्नो पायक पर्ने ठाउँमा राजधानी हुनुपर्छ भनेर दावि गर्नु स्वभाविक पनि हो । कतिले स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्ना चुनाबी एजेण्डामा राजधानीलाई पनि राखेका थिए । नेतृत्वहरुमा पनि जनदवाव छ । यो वहस र विवाद स्वभाविक हो । 

राजधानी राख्ने कुरामा चुनाबी एजेण्डालाई प्राथमिकता दिने की भूगोल र प्राविधिक कुरालाई ?  

मुख्य कुरा बहुमत जनताको अपेक्षा के छ, त्यसमा भौगोलिक सुगमता, यातायात, विमानस्थल लगायतका पूर्वाधार पनि हेर्नुपर्दछ । यसका साथै प्रदेशको राजधानी बनाउन आवश्यक पूर्वाधार हुन जरुरी छ । भने, सुरक्षाको कुरा पनि उत्तिकै महत्वपूर्ण हो । यो विषयमा विज्ञहरुको समिति बनाएर अगाडी बढ्दा सहज हुने देखिन्छ ।अहिले राजधानी राख्ने विषयमा इटहरी, विराटनगर, धरान र धनकुटा विचको रस्साकस्सीलाई कसरी न्यूनिकरण गर्ने ?  

मैले भनिहालें, जनताको चाहना, भौगोलिक सुगमता, पूर्वाधार र सुरक्षालाई प्राथमिकता दिनुपर्छ । धरानमा क्षेत्रफलले समस्या छ, पूर्वाधार निर्माण र १४ ओटै क्षेत्रका जनतालाई सुविधा नहुन सक्छ । धनकुटा संभावना कम भएको क्षेत्र हो, भूगोल र पूर्वाधारका दृष्टिकोणले पनि । यातायातको असुविधा छ ।  

विराटनगर पनि राजधानी हुँन सक्दैन । एक त विराटनगर सिमा क्षेत्र भयो । सुरक्षाका दृष्टिकोणले अनुपयुक्त छ । दोस्रो पूर्वी पहाडी क्षेत्रका जनताका लागि पनि पायक पर्दैन । बरु इटहरी, दुहवी र खनारलाई केन्द्रित गरी पूर्वाधार निर्माण गरेर राजधानी राख्न उपर्युक्त हुन्छ । यसका लागि अल्पकालिन रुपमा अहिले विराटनगर नै राजधानी राख्ने र ती स्थानहरुमा आवश्यक पूर्वाधार बनाएर स्थायी रुपमा सार्ने । यसो गरेको खण्डमा जनमतको कदरपनि हुन्छ । साथै दुहवी, खनार जस्ता विकासका पूर्वाधार नभएका र कम विकसित भएका क्षेत्रको विकास पनि हुन्छ ।  

इटहरी, दुहवी र खनारलाई जोडेर बनाउँदा पनि त प्रादेशिक सरकारका निकायहरु छरिने भए नी ?  

तपाईलाई थाहा होला, इटहरी, खनार र दुहवीको दुरी लगभग १२ किलोमिटरको हाराहारीमा छ । यो १२ किलोमिटरको हाराहारीमा दुहवी खनार र इटहरीलाई केन्द्रित गर्दै पूर्वाधार बनाउने हो भने खासै समस्या देखिन्न । अझ राज्यले विकासका पूर्वाधारबाट पछि परेका एरियालाई विकास गर्ने योजना बनाउने हो भने, दुहवी खनारलाई केन्द्रित गरेर राजधानी राख्नुपर्छ । यसोे गर्दा भौगोलिक हिसाबले विराटनगरको एयरपोर्ट र दुहवीको दुरी पनि कम पर्छ ।  

 

दुहवीले मात्रै राजधानी बनाउने विषयमा दावि गर्न सक्दैन ?  

दुहवी नै प्रदेश १ को राजधानी दावी गर्न सक्ने आधार पनि छ । भौगोलिक सुगमता छँदैछ, दुहवी १४ ओटै जिल्लाका लागि उपर्युक्त क्षेत्र हो । यहाँ संरचना निर्माण गर्नका लागि प्रसस्त सरकारी जग्गा पनि छ । दुहवीमा राजधानी बनाउँदा यो क्षेत्रको विकासको लागि कोषेढुङ्गा सावित हुन्छ । त्यहाँ सम्पूर्ण प्रशासनिक संरचना बनाएर स्थायी राजधानी बनाउँदा हुन्छ । 

सबैभन्दा उत्तम कर्णाली र गण्डक प्रदेश नामाकरण गरेजस्तै १ नं. प्रदेशलाई कोशी प्रदेश गर्दा मलाई लाग्छ कसैले विमती गर्ने ठाउँ रहँदैन ।  

प्रदेशको नामाकरणमा यहाँको के विचार छ ?  

१ नं. प्रदेशको नामाकरणको विषय अहिले निक्कै चर्चामा रहेको छ । सबैले आ–आफ्नो क्षेत्र, समुदायको प्रतिनिधित्व हुने गरी नामाकरण गरिनुपर्दछ भनेका छन् । प्रदेश सरकारले नामाकरण गर्दा सबैको प्रतिनिधित्व हुने गरी नामाकरण गर्न आवश्यक छ । यसका लागि हिउँदे अधिवेशन सँगै गाउँगाउँमा गएर जनताका सल्लाह सुझाब ल्याउन आवश्यक छ ।  

जातिय र ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामाकरण गरिनुपर्छ भन्ने कुरामा यहाँको धारणा के छ ?  

हाम्रो जस्तो जातिय विविधता विच एकता भएको मूलूकमा कुनै एकल जाति विशेषलाई आधार बनाएर राज्यको नामाकरण गर्न उचित हुँदैन । बरु ऐतिहासिक भुगोलको आधारमा नामाकरण गर्दा सबैले अपनत्व गर्न सक्छन् । १ नं. प्रदेशलाई कोशी प्रदेश नामाकरण गर्दा उपर्युक्त हुन्छ । विराट प्रदेश पनि ऐतिहासिक आधारबाट गर्न सकिन्छ । सबैभन्दा उत्तम कर्णाली र गण्डक प्रदेश नामाकरण गरेजस्तै १ नं. प्रदेशलाई कोशी प्रदेश गर्दा मलाई लाग्छ कसैले विमती गर्ने ठाउँ रहँदैन ।  

प्रदेशको नामाकरणमा पार्टीको धारणा कस्तो रहेको छ ?  

संविधानले नै प्रदेशको नामाकरण प्रदेशसभाले गर्ने स्पष्ट ब्यवस्था गरेको हुँदा यो विषयमा पार्टीले कुनै ठोस निर्णय गरेको छैन । प्रदेशसभाले नै यसलाई पास गर्नुपर्ने हुन्छ । पार्टीले सबैलाई मिलाएर, सबैको अपनत्व झल्कने गरी नामाकरण गर्न सुझाब दिएको छ ।  

पछिल्ला दिनहरु बाम गठबन्धनको सरकारले जनअपेक्षा अनुरुप काम नगरेको गुनासो बढेको छ, सरकार कीन कमजोर भयो ?  

बाम गठबन्धनले दुईतिहाई बहुमत हासिल गरेपछि जनतामा एक प्रकारको उत्साह थियो । अब मुलुक परिवर्तन तिर तुरुन्त लम्बन्छ भन्ने जनताको अपेक्षा थियो । तर, अहिलेको अवस्था पुरानो एकात्मक संरचनालाई तोडेर संघिय संरचनामा जाँनुपर्ने भएकोले एकै चोटी विकास नभएको छ । सरकार गठन भएको एक वर्षपनि नपुगि हामीले सरकारले गरेका कामको मुल्याङ्गन गर्न मिल्दैन । निति निर्माण गर्ने, कानुन बनाउने, संघिय संरचना बनाउने काममा सरकारले धेरै काम गरेको छ । प्रधानमन्त्री ज्यूले अबको तीन वर्ष विकासको वर्ष भन्नु भएको छ । तसर्थ, हामीले सरकारलाई समय दिन आवश्यक छ ।  

तर, प्रतिपक्षीले ओली सरकार पुरै असफल भयो भनिरहेका छन्, राज्य संयन्त्र कमजोर भयो, दुर दराजमा सरकारको उपस्थिति भएन भन्दैछन् नी ?  

प्रतिपक्षीको भूमिका सरकारले गरेका रचनात्मक कामलाई समर्थन गर्दै खबरदारी गर्नु हो । तर, अहिले हाम्रो प्रतिपक्षी रचनात्मक त छैन नै, सकारात्मक काम गर्दापनि नकारात्मक अफवाह फैलाएर सरकारलाई अलोकप्रिय बनाउन उद्यत देखिएको छ । सानातिना विषयलाई उछालेर सडकमा ल्याउने, आधारहिन तर्क गरेर संसद अवरुद्ध गर्ने काम मात्र गरेका छन् ।  

सरकार अलोकप्रिय भएको छैन, ५ वर्षसम्मको म्यान्डेट लिएर बनेको सरकारलाई विचमै तुहाउन प्रतिपक्षीहरुले अनेक बहाना बनाएर अलोकप्रिय बनाएका मात्र हुन् । 

जहाँसम्म दुर दराजमा राज्य संयन्त्र नपुगेको, कमजोर भएको कुरा छ, केन्द्रिकृत संरचनाले सबै तिर एकै पटक काम गर्न नसकेकोले संघिय संरचना बनाईएको छ । अहिले केन्द्र सरकार भन्दा स्थानीय सरकार बलियो बनेको छ । सिंहदरबारको अधिकार गाउँपालिका, नगरपालिका हुँदै घरघरमा पुगेको छ । याे ठूलाे उपलब्धी हाे ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *