५ लाखको पूँजीबाट कसरी करोडौँको मालिक भए धमला !

कात्तिक ८, काठमाडौं । काठमाडौं २९–घट्टेकुलो अवस्थित धमला डेरी ३ लाख पूँजीबाट सुरु भई आज ३ करोडकाे पूँजीमा पुगेकाे छ । यतिबेला याे डेरी राजधानीको डेरी व्यवसायमा स्थापित ब्राण्ड बन्न सफल भइसकेकाे छ । १५ वर्ष अघि धमला डेरी सुरु गरेका दीपप्रसाद धमलाले संघर्षका दिनमा गरेको मेहनतको प्रतिफल हो अहिलेको सफलता । 

उनको लोभलाग्दो कथाले नेपालमा नै केही गरे विदेश जानै नपर्ने प्रेरणा युवाहरुलाई मिल्नेछ । 

धमलाले ६० सालमा मात्र ३/४ लाख सापट लिएर डेरी व्यवसाय थालनी गरेका हुन् । ‘अनुभव भएको काम गर्नुपर्ने रहेछ अनि व्यवसाय गर्दा अरुलाई पनि फाइदा पुगोस् भनेर नै डेरी व्यवसाय थालनी गरें ।’–उनी भन्छन् । डेरीबाट गाउँ—गाउँमा किसानका हातमा पैसा पुग्ने अनि गाउँको उत्पादन व्यवसायीकरण भएर किसानहरु आर्थिक सम्वृद्धि तर्फ अग्रसर हुने भएकोले पनि उनलाई डेरी व्यवसायमा रुचि बढ्दै गयो । 

null

सुरुमा १२ सय लिटर मात्र दूध बेच्ने उनी अहिले दैनिक लाखभन्दा बढी लिटर दूध बिक्री गर्ने भइसकेका छन् । उनले दूध बेचेर नै अहिले सोही स्थानमा ४ आना जग्गामा साढे तीन तला घर पौने २ करोडमा किनेको बताए । डेरावाल भएर दुःखद जीवन गुजारेका दीपप्रसादले आफ्नै पौरखमा राजधानीको मुटुमा साढे तीन तला घर जोड्नु भनेको सानोतिनो कुरा हैन । अझ चार पाँच लाख खर्च गरेर विदेश गएर कमाएका नेपाली पनि यो तहमा पुग्न सक्ने अवस्था बन्दैन । धमलाले नेपालमै रहेर आफु जस्तै अरु नेपाली दाजुभाईलाई रोजागारी दिएरै सम्पन्नताको शिखरमा चढ्दैछन् । 

दुग्ध व्यवसायमा खतरा र जोखिम अत्याधिक भएता पनि सेवामुलक भएकै कारण आनन्द र सन्तुष्टि मिलेको उनको ठम्याइ छ । 

 

युवाहरु विदेशिने परिपाटी अन्त्य हुनुपर्ने र काम गर्न लाज मान्ने प्रवृत्ति भएकामा चिन्तित हुँदै पासपोर्ट लिएर आएका व्यक्तिहरुलाई पनि रोकेको उनले दाबी समेत गरे । उनको डेरी उद्योगमा अहिले १५ जना स्टाफले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा हजारौंले रोजगारी पाएको उनले बताए । जोकोहीले सिक्न चाहेमा उनलाई सहयोग गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । 

ओखलढुङ्गा कटुञ्जेमा जन्मेका धमला घरका जेठा छोरा हुन् । स्कुल पढ्ने अभिलाषाले २०४६ सालमा ७ कक्षा पढ्दापढ्दै जनकपुर झरेका थिए उनी । त्यहाँ एसएलसी उत्तीर्ण गर्न नसकी मुखियाको जागिर खाने आशामा ४७ सालतिर उनी राजधानी आए अनि होटलमा सानोतिनो काम गर्दै रात्रि कक्षामा अध्ययन गर्न थाले । 

राजधानी आउँदा उनले बागबजारस्थित एक सर्टिङ्ग सुर्टिङ्गमा काम गर्दा मासिक ६ सय तलब बुझ््ने गरेका थिए तर, त्यो काममा उनको मन रम्न सकेन । २० दिनमै त्यो काम छाडेर मिठाइ पसलमा खान बस्न, बेलुकी पढ्न पाउने गरी वर्ष दिन काम गरे । पछि बागबजारकै सिलवाल डेरीमा महिनाको १ हजार तलबमा काम सुरु गरेका उनले कलेज पढ्दै ४ वर्ष सोही ठाउँमा काम गरे । ‘अरुकोमा काम गर्दा खासैै कमाई भएन तर, डेरी व्यवसायमा अनुभव भने राम्ररी पाएँ ।’–उनी संघर्षका दिनहरु सम्झँदै भन्छन् ।–‘त्यसपछि भने धेरै पैसा कमाइ होला भन्ने सपना बोकेर विदेश गएँ । विदेशमा पनि पैसा कमाउन कहाँ सजिलो रहेछ र !’ उनी भन्छन् । 

एसएलसी पास गरेपछि क्याम्पस पढ्ने इच्छा हुँदाहुँदै पनि रोजगारी गर्नुपर्ने बाध्यता आएपरेपछि उनी अरु युवाहरुकै पदचाप पहिल्याउँदै विदेशिएका थिए । ०५४ सालमा वैदेशिक रोजगारीमा गएका उनी ४ वर्ष विदेश बसे, त्यसपछि नेपाल आएर घरजम गरे चन्द्रकला धमलासँग । चारवर्ष विदेश बस्दा खासै कमाउन नसकेका उनी पुनः विदेशीए । विहे गरेपछि विदेश गएकोले होला उनी त्यहाँको रमझम र कमाईमा रम्न सकेनन् गएको एक वर्षमै स्वदेश फर्किए । अनी बागबजारको डेरी पसलबाट हासिल गरेको अनुभवलाई जिवनमा लागू गर्न आँट गरे र सुरु गरे ‘धमला डेरी प्रडक्टस’ । जुन १५ वर्षको दौरानमा डेरी व्यवसायमा स्थापित ब्राण्ड नै बन्न सफल भएको छ । 

केही गर्छु भन्नेलाई दिनको १५ सय कमाउन नेपालमा नै बसेर सकिने उनको भनाइ छ । डेरी व्यवसायमा ५–१० लाखको सानो लगानीबाट पनि गुजारा चल्ने र कमाइ पनि राम्रो हुने उनको दाबी छ । ‘डेरी व्यवसायमा मेहनत, लगनशीलता र इमान्दारिता चाहिन्छ, ५/१० लाखको पुँजीले राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनी भन्छन् । 

 

उनले भक्तपुरमा ३ करोड लगानीमा धमला डेरी उद्योग खोली डेरी व्यवसायबाट नै राष्ट्रिय परिचय बनाउने सपना लिएका छन् । उनले भने– ‘डेरी व्यवसाय सेवामुलक व्यवसाय भएकाले सरकारले पनि सहयोग गर्नुपर्छ र डेरीलाई भ्याट लगाउन हुँदैन । व्यवसायको विस्तार र हितका लागि सरकारले विजुलीमा राहत उपलब्ध गराए कृषि र पशुपालन व्यवसायमा लागेका किसानको जिवनस्तर उकास्न ठूलो टेवा दिन्छ ।’ 

दुग्ध व्यवसायमा पहुँचवालालाई मात्र सरकारले अनुदान दिएकामा उनी रुष्ट छन् । अनुदान लिएकाले समेत त्यसको सहि सदुपयोग नभएको उनको ठम्याइ छ । ‘धेरैले दुग्ध ब्यवसायका नाममा राज्यबाट अनुदान लिएका छन् । अनुदानको सदुपयोग भए नभएको विषयमा राज्यले खोजीनिती गर्नुपर्छ ।’–उनी भन्छन् । दुग्ध व्यवसाय गर्दा सहकारीबाट २४ प्रतिशत ब्याजसम्म लिएकालाई सरकारले पनि विशेष राहत दिनुपर्ने उनको भनाई छ । 

दीपप्रसादको संघर्ष र सफलतामा उनकी जिवनसंगिनी चन्द्रकलाको साथ र सहयोग पनि छ । डेरी व्यवसायलाई स्थापित गराउन दिनरात लागि परेका दीपप्रसादलाई होस्टेमा हैँसे गर्ने श्रीमती चन्द्रकला भन्छिन्– ‘श्रीमानले देखेको सपनामा हिँड्नु र साथ दिनु श्रीमतीको कर्तव्य पनि हो, म उहाँको कार्यबाट एकदम सन्तुष्ट छु ।’ 

दीपप्रसादको अबको योजना ‘धमला डेरी प्रोडक्स’ लाई राष्ट्रिय स्तरको कम्पनी बनाउने छ । 

अहिले उनको डेरीबाटै मासिक ६ लाखसम्म कमाई हुने गरेको धमलाको दाबी छ । धमलाका राजधानीमा मात्रै ७ ओटा आउटलेट सञ्चालनमा छन् । निरन्तर संघर्षका कारण आफ्नो ७ वटा आउटलेट राम्रोसँग चलिरहेको उनको भनाई छ । 

उनको डेरीमा नियमित ग्राहक पनि छन् । धमला डेरी छोटो समयमा स्थापित हुनुमा लगनशीलता त छँदैछ, त्यो संगै गुणस्तरीयता पनि प्रमुख कारण भएको दीपप्रसादको ठम्याई छ । उनले दुग्ध व्यवसायमा अपनाउनुपर्ने सबै क्वालिटी मेन्टेन गरेका छन् । 

काम गर्दा अधैर्य नभई गरे सफल हुने र अरुको व्यापार सिको नगरे नै आफ्ना मौलिकता पेश गरेकाले धमला डेरीको बेग्लै स्थान र नाम रहेको धमलाको अनुभव छ । ‘भित्री इच्छाशक्ति, अनुभव र संघर्ष यी ३ चीज सफलता प्राप्तिका सञ्जीवनी हो ।’ उनले मकालु खबरसँग भने–‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, हाम्रै गाउँघरमा उत्पादीत वस्तुलाई बजारीकरण र ब्यवसायीकरण गर्न भने जान्नुपर्दछ ।’ 

उनको धमला डेरी प्रडक्टसमा दूधका परिकार बाहेक रसबरी, लालमोहन, अन्य मिठाइ, डेरी उत्पादनको प्रयोजनका लागि काठमाडौं उपत्यकाभर सेवा उपलब्ध भएकाले होलसेल डिष्ट्रीब्यूटर लिन चाहनेले ९८४१५६४३३१ वा ०१५०९२४९२ मा सम्पर्क गर्न आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *