देउवाको तयारीमा केपी ओलीको ‘हरियो झन्डा’

काठमाडौँ, साउन १४ । प्रमुख विपक्षी दल एमाले प्रदेश र केन्द्रीय संसद् निर्वाचन एकै दिन गराउन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै चुनाव एकै दिन गर्ने विषयमा निर्वाचन आयोगसँग प्रस्ताव गरेको भोलिपल्टै एमालेले त्यस निम्ति तयार रहेको जनाउ दिएको हो , नयाँ पत्रिकामा खबर छ ।

‘हामीले संस्थागत निर्णय गरिसकेका छैनौँ, तर दुवै निर्वाचन एकैचोटि गराउन नसकिने होइन,’ एक साता चीनको तिब्बत भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा शुक्रबार एमाले अध्यक्ष केपी ओलीले सञ्चारकर्मीसँग भने, ‘दुई चरणमा गर्ने हो भने पहिले प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्छ ।’ संविधानको समयसीमाभित्र निर्वाचन सम्पन्न नभए गम्भीर संवैधानिक संकट उत्पन्न हुने भन्दै ओलीले सरकार र निर्वाचन आयोग गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहित आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री देउवाले समयसीमा कम रहेका कारण प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्दै सुझाब मागेका थिए । जवाफमा प्रमुख आयुक्त यादवले भने त्यसरी अप्ठ्यारो हुने भएकाले पहिले प्रत्यक्ष र समानुपातिकको मतपत्र एउटै कायम गरेर प्रत्यक्षतर्फ खसेको मतलाई नै समानुपातिकतर्फ गणना गर्न सकिने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *