निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै आज कञ्चनपुर बन्द !

“
धनगढी, असोज १६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा संलग्न दोषीलाई सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कञ्चनपुर बन्द गरेको छ ।
हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नु र उच्चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिनुले घटना शसंकित भएको भन्दै नेविसंघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको हो ।
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द गराएको हो । सोमबार जिल्लाका शैक्षिक संघसंस्था बन्द गराएको नेविसंघले आइतबार राँके जुलुस समेत निकालेको थियो ।
नेविसंघका विद्यार्थीहरुले निर्मलाका हत्यारा सार्वजनिक गर्न सरकारलाई दबाब दिनका निम्ति बिहानैदेखि महेन्द्रनगरमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संघसस्था, उद्योग कलकारखाला पनि ठप्प छन् ।
उनीहरुले अपराधि पत्ता लगाउनुपर्ने, अनुसन्धानमा सग्लन प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् । सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको आरोप लगाउँदै उनीहरुले सरकार बिरुद्ध नारावाजी समेत गरेका छन्।
“








