नेविसंघद्वारा भोलि कञ्चनपुर बन्दको आह्वान !

काठमाडौँ, असोज १५ । निर्मला हत्या प्रकरणबारे उच्चस्तरीय छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बन्दको आह्वान गरेको छ ।

घटना घटेको दुई महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नु र छानविन समितिले प्रतिवेदन बुझाइसक्दा पनि सार्वजनिक नगरीनु शंकास्पद रहेको भन्दै सोमबार शैक्षिक हड्ताल घोषणा गरेको नेविसंघले मंगलबार कञ्चनपुर बन्दको आह्वान गरेको हो । नेविसंघले आइतबार राँके जुलुस समेत निकालेको थियो ।

बजार, यातायात, कलकारखाना, शिक्षण संस्था सबै बन्द हुने नेविसंघले जनाएको छ । तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेमा थप सशक्त आन्दोलनमा उत्रिने समेत नेविसंघले चेतावनी दिएको छ ।

निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरिरहेको नेविसंघको आरोप छ । हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने नेविसंघले जनाएको छ ।

शंकाको घेरामा तानिएका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए रिपोर्ट म्याच नगरेपछि घटना र अनुसन्धान झनै जटिल बन्ने देखिन्छ ।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

त्यसपछि घटनाको अनुसन्धानमा खटिएका प्रहरीबाटै लापरबाही भएको भन्ने निश्कर्ष निकाली गत भदौ ७ गते गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले गृहमन्त्रीलाई अनुसन्धानको प्रतिवेदन समेत बुझाइसकेको छ । गृहमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =