आँपटारी–देवघाट–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने

“
भरतपुर, असोज १५ । आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने भएको छ । धार्मिक मार्गको सम्पूर्ण काम तीन वर्ष्भित्र सक्ने लक्ष्य लिइएको छ । देवघाट क्षेत्र विकास समितिले सो सडकलाई दुई लेनको धार्मिक मार्गको रुपमा विस्तार गर्ने जनाएको छ ।
‘देवघाट क्षेत्रको विकास गर्न सबैभन्दा पहिला सडक फराकिलो र पक्की चाहिने भएका हुनाले आँपटारी–देवघाट–ठिमुरा–रामनगर–सडकलाई धार्मिक मार्ग घोषणा गरी विस्तारको प्रक्रिया अघि बढाएका छौँ’ देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले भने । उनले हाल सडक विस्तारको काम भइरहेको बताए ।
आँपटारी–देवघाट सडक साढे पाँच मिटरको चौडाइमा बनाइएको छ । ‘साढे ५ मिटरको चौडाइ पनि साँघुरो भएको हुनाले साढे ७ मिटरको बनाउन भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरेका छौँ’ निवर्तमान अध्यक्ष पौडेलले भने, ‘हेरौँ, मन्त्रालयले स्वीकृत दिएर बजेट पा¥यो भने यो सडक अझै विस्तार हुनेछ ।’ उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकको सर्भेको काम सम्पन्न गरिसकेको छ ।
आँपटारी देवघाट सडक विस्तारको काम ४० प्रतिशत सकिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । ‘पहिला यो सडक निकै साँघुरो थियो, अहिले विस्तार गरेर निर्माण गरिरहेका छौँ, तर यो सडक अझै फराकिलो पार्ने प्रस्ताव हामीले गरेका छौँ’ उनले भने ।
आँपटारी–देवघाट सडकमा पर्ने ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट सडकमा रहेको ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको लागि ५० लाख रूपैयाँ बजेट निकासा गरेको छ ।
‘रिटेनिङ वालको काम पनि आधाआधीमा पुगेको छ’ अध्यक्ष पौडेलले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयबाट थप बजेट निकासा भएपछि सडक निर्माणको काम तीव्र हुन्छ ।’
आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्ग पूर्ण रूपमा विस्तार भए पोखरा, काठमाडौँलगायतका ठाउँबाट देवघाट दर्शन गर्न आउनेलाई सहज हुने देवघाट क्षेत्र विकास समितिको भनाइ छ । देवघाट–ठिमुरा–रामनगरको सडक हाल कच्ची छ ।
रामनगरबाट आँपटारी नआई सीधै ठिमुरा हुँदै देवघाटधाममा दर्शन गर्न आउने भक्तजनहरूले सडक कच्ची भएका कारण धेरै सास्ती भोग्नुपरेको छ । ‘आँपटारी नआई रामनगरबाट देवघाट आउने बाटो साँघुरो र कच्ची भएका कारण भक्तजनका गाडीहरु फस्ने, पल्टनेजस्ता समस्याहरु भइरहेका छन् । भक्तजनले सास्ती पाएका छन्’ निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले भने, ‘यो सडक निर्माणको लागि छिटो बजेट निकासा गर्न भौतिक पूर्वाधार मन्त्रालयदेखि भरतपुर महानगरसम्मलाई अनुरोध गरेका छौँ ।’
भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष जयदेव श्रेष्ठले धार्मिक मार्गको लागि यसअघि नै १० लाख रुपैयाँ बजेट पारेको बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार अब फेरि धार्मिक मार्गको लागि १२ लाख बजेट पार्ने छौँ ।
वडाध्यक्ष श्रेष्ठले ३ नं प्रदेश सरकारबाट रामनगर ठिमुरा सडकमा ५० लाख बजेट पारिएको बताए । उनले भने, ‘धार्मिक मार्ग चाँडै निर्माण सम्पन्न गर्नको लागि भरतपुर महानगरपालिका पनि लागेको छ ।’ आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्गको लम्बाइ साढे ११ किलोमिटर छ ।
धार्मिक मार्गको सडक निर्माणपछि देवघाटमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाटमा वार्षिक झन्डै ११ लाख भक्तजनहरू आउने गरेका छन् ।
“








