साझा सहमतिका आधारमा योजना कार्यान्वयन

असोज १४, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिका आधारमा गुरुयोजना तर्जुमा गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को नीति तथा योजना आयोग द्धारा आज हेटौँडामा आयोजित प्रदेशको आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमासम्बन्धी कार्याशाला गोष्ठीको उद्घाटन गर्दै विगतमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुप कार्यान्वयन गर्नेतर्फ नीति तथा योजना आयोगको ध्यान जानुपर्ने बताए । आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनोट गरी जनताको घरदैलोमा  पुर्याउन दक्ष जनशक्ति उपलब्ध गराउँदै लैजान उनले सुझाव दिए ।

सो अवसरमा प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्न तथा आवश्यक नीति योजना र अनुगमनलाई प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए । सोमबारसम्म चल्ने सो कार्याशाला गोष्ठीमा प्रदेश नं ३ का मन्त्री, विभिन्न मन्त्रालयका सचिव, नीति तथा योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवानपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रदेश नीति आयोगका सदस्य श्यामकुमार बस्नेतले जानकारी दिए ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =