प्रदेश ७ को प्रस्तावित नाम र राजधानी स्वीकार्य नहुने भन्दै काँग्रेसद्वारा बैठक अवरुद्ध

“
धनगढी, असोज १२ । प्रदेश सातको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध सिर्जना गरेका छन् ।
प्रदेश सातको प्रस्तावित नाम र राजधानीका विषयमा असहमति जनाउँदै नेपाली काँग्रेसले प्रदेशसभा बैठकमा नै नाराबाजी गरी बैठक अवरुद्ध गरेका हुन् । काँग्रसले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि सरेको छ ।
बिहान साढे ११ बजे बसेको प्रदेशसभा बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका हुन् । उनीहरुले प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी स्वीकार्य नहुने अडान लिएका छन् ।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका, २ तेघरी राख्न सिफारिस गरेको छ ।
प्रदेशको नाम र राजधानी प्रतिवेदन सिफारिस गरेपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले असहमति जनाएपछि मतदानबाट यसको टुंगो लगाइने भएको हो ।
तर प्रदेशको राजधानी धनगढीबाट नसार्न माग राख्दै बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदेशसभाको मुलगेटमा जम्मा भएका धनगढीका स्थानीय बासिन्दाले नाराबाजी गरेर प्रदर्शन गरिरहेका छन् ।
“








