अमेरिकी संसदीय चुनावमा चीनको हस्तक्षेप !

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपतिले नोभेम्बरमा हुन लागेको अमेरिकी संसदीय चुनावमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाएपछि चीनले त्यसको कडा शब्दमा खण्डन गरेको छ।

आफूले चीनसामु व्यापारमा चुनौती प्रस्तुत गरेकाले बेइजिंगले आफ्नो दल रिपब्लिकनलाई हराउन चाहेको ट्रम्पले बताएका थिए।राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अध्यक्षता गरिरहेका ट्रम्पले चीनले आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेका चुनावमा हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएका थिए।

चीनले आफू वा आफ्नो दलले जितोस् भन्ने नचाहेको उनले बताए।राष्ट्रपति ट्रम्पले ती आरोप पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेनन्।चीनका विदेशमन्त्री वाङ्ग यीले ती आरोपको निन्दा गरेका छन्।

वाङ्गले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए।अमेरिकाले अब चीनलाई पनि रुस, इरान र उत्तर कोरिया सरह अमेरिकी प्रजातन्त्र र स्वतन्त्रताविरुद्ध खतराका रूपमा लिइरहेको ट्रम्पका भनाइले प्रस्ट पार्छ।

ट्रम्प प्रशासनका अधिकारीहरू, चीन खासगरि साइबर क्षेत्रमा निकै प्रभावशाली भएको र तिनले विपक्षीलाई गलाउन सक्ने विश्वास गर्छन्।चीनले आफ्नो परम्परागत समर्थक समूह किसानहरूलाई ट्रम्पविरुद्ध भड्काउने प्रयास गरेको उनीहरूको आरोप छ।

दुई शक्ति राष्ट्रबीच फैलँदो व्यापार युद्धका माझ चीनले भने यी सबै आरोपलाई आधारहीन भन्ने गरेको छ।अमेरिका र चीनबीचको व्यापारको फाइदाबारे बताउने प्रयास गर्नु जायज भएको चीनको भनाइ छ। तर ट्रम्प प्रशासनसम्बद्ध कसैले चीनमाथि चुनावमा हस्तक्षेपको आरोप लगाएको यो पहिलोपटक भने होइन।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले रुस, उत्तर कोरिया, इरान र चीन सबैले अमेरिकी चुनावमा हस्तक्षेपको योजना बनाइरहेको हुन सक्ने बताएका थिए। -बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =