सेभिल्लाको मैदानमा रियल मड्रिडको खराव प्रदर्शन, पुच्छारको टोलिसँग बार्सिलोना पनि हार्यो

“एजेन्सी, असोज ११ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती शीर्ष दुई टोलि पराजित भएकाक छन् । युरोपकै महारथी क्लबहरु रियल म्याड्रिड र बार्सिलोना पराजित भएका हुन् । रियलले सेभिल्लाको मैदानमा हार्दा बार्सिलोना भने पुछारको लेगानेसको मैदानमा पराजित भयो ।
स्पेनिस लिगमा दुवै टोली एकै दिन हारेको दुर्लभ क्षण बुधबार भयो । गत सिजन बार्सिलोनाले लिगमा एक खेलमा मात्र पराजित भएको थियो । बुधबार भने लिगको छैटौं खेलमा नै बार्सिलोनाले हार बेहोर्यो । लेगानेसको मैदानमा अग्रता लिएपनि बार्सिलोना २(१ ले पराजित हुन पुग्यो । कोउटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा लगातार दुई गोल खाँदै नतिजा सुम्पियो ।
यता रियल म्याड्रिडले पनि लिगको पहिलो हार आत्मसात गर्यो । खराब प्रदर्शन गरेको टोलीले पहिलो हाफमा नै तीन गोल खायो । आन्द्रे सिल्भाले दुई तथा विसाम बेन येडरले एक गोल गरेपछि घरेलु टोली सेभिल्लाले जित दर्ता गरेको थियो । रियलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि आक्रमण चुस्त नहुँदा पाएको अवसरको फाइदा उठाउन सकेन ।
दुवै टोली एकै दिन लिगमा पराजित भएको बिरलै हुने गर्दछ । पछिल्लो पटक सन् २०१५ को जनवरीमा रियल र बार्सिलोना हारेका थिए । त्यसबेला लुइस एन्रिकेको प्रशिक्षकत्वमा रहेको बार्सिलोनालाई रियल सोसीडाडले पराजित गरेको थियो । रियल म्याड्रिड भने भ्यालेन्सियासँग पराजित भएको थियो । हारका बाबजुद दुवै टोली अंक तालिकाको शीर्ष स्थानमा कायम नै छन् ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले ६ खेलमा १३ अंक जोडेको छ । बार्साले १७ गोल गर्दै ७ गोल खाएको छ । रियलले पनि ६ खेलमा १३ अंक नै जोडेको छ तर गोल अन्तरमा भने टोली पछाडी छ । रियलले १२ गोल गर्दै ६ गोल खाएको च । तेस्रो स्थानको एटलेटिको ६ खेलमा ११ अंक बोकेको छ भने ५ खेलमा १० अंक जोडेको डेपोर्टिभोसँग शीर्ष स्थानमा जाने मौका छ ।”








