राष्ट्रिय पुस्तकालयमा समस्या, पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य

असोज १०, ललितपुर । हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा पाठक रित्तो हात फर्कन बाध्य भएका हुन् ।

विसं २०७२ मा गएको विनाशकारी भूकम्पले पुस्तकालय लथालिङ्ग बनेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताए । पुस्तकालय सार्ने ठाउँ नहुँदा पहिले बाल शाखा रहेको पुरानो भवनमा सीमित हुनु परेको छ । दैनिक झण्डै १० देखि १५ जनासम्म पाठक पुस्तक खोज्दै आउने गरेका छन् उनले भने “तर उहाँहरुले खोजेको पुस्तक नभेटेरै फर्कनुहुन्छ ।”

भूकम्पभन्दा पहिले दैनिक सय जनाभन्दा बढी पाठक पुस्तकालय आउने गर्दथे । विद्यालयमा लामो छुट्टी हुने समयमा यो सङ्ख्या ह्वात्तै बढ्ने गर्दथ्यो । भूकम्पपछि यहाँबाट पर्याप्त सेवा दिन नसकेकाले विस्तारै पाठकको सङ्ख्यामा कमी आएको छ । “पाठक नआएको भन्दा पनि आएकालाई सेवा दिन सकिएको छैन ।”

बाल शाखामा बाँकी रहेका झण्डै सात हजार पुस्तक लामो समयसम्म बोरामा नै थन्काएर राख्नुपरेको थियो । अहिले तीनलाई ¥याकमा राखिएको छ । पुस्तकालयमा अहिले थोरै पुस्तक मात्रै छन् । यहाँ आउने अधिकांश पाठकले खोजेको पुस्तक नपाएपछि निराश भई फर्कने गरेको अधिकृत श्रेष्ठको भनाइ छ । उनले भने “धेरैले खोजेको पुस्तक भेटिएन भन्दै फर्कने गर्छन् ।”

अहिले पुस्तकालय रहको भवन साँघुरो हुँदा पुस्तकलाई व्यवस्थित रुपमा राख्न नसकिएको बताउछन । पहिले पर्याप्त ठाउँ हुँदा विषयअनुसार पुस्तकलाई छुट्टाएर राख्ने गरिएको थियो । अहिले सबै पुस्तक मिसाएर राख्दा पाठकले खाजेका पुस्तक यहाँ भएर पनि सजिलै भेट्न सक्दैनन् ।

पुस्तक नबिग्रियोस् भनेर पुस्तकालयले समय समयमा विषादी हाल्ने गरेको छ । अहिले पुस्तकालय रहेको भवन जीर्ण अवस्थामा रहेकाले पुस्तकको सुरक्षामा समस्या भएको छ । वर्षायाममा भित्ताबाट पानी चुहिन्छ । “पुरानो र चर्किएकै भए पनि यही भवनलाई मर्मत गरेर बस्नुपर्ने बाध्यता छ ।” अहिले भवनमा छाना फेर्नेलगायत मर्मत भएको छ उनले भने ।

यस पुस्तकालयमा पहिले झण्डै एक लाखको हाराहारीमा पुस्तक रहेका थिए । अहिले ती पुस्तक तीन ठाउँमा राख्नु परेको पुस्तकालय अधिकृत श्रेष्ठले बताए । भूकम्पले पुस्तकालय, मानवअधिकार आयोग, निजामती किताबखाना रहेको शङ्कर भवन क्षतिग्रस्त बन्यो । किताब बिग्रने अवस्थामा तत्काल महेन्द्र भवन माध्यमिक विद्यालयमा लगिएको थियो । अहिले झण्डै ५० हजार पुस्तक सोही विद्यालयमा राखिएका छन् ।

झण्डै २३ हजार पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा रहेको पुस्तकालयले जनाएको छ । ती दुबै ठाउँमा रहेका पुस्तक पाठकको पहुँचमा छैनन् ।

स्थायी संरचना बनाउनका लागि नक्सा बनेपनि काम अघि बढ्न सकेको छैन । अस्थायी संरचना नै बनाएर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनले बताए । बाल शाखाको अगाडि रहेको राष्ट्रिय मानवअधिकार आयोगको जग्गामा अस्थायी संरचना बनाउन सके पुस्तकालय सञ्चालनमा ल्याउन सकिने कर्मचारीहरु बताउँछन् । अधिकृत श्रेष्ठले भने “अस्थायी संरचना बनाउन सके एकातिर पुस्तकको संरक्षण हुन्छ, भने अर्कातिर पाठकले सेवा पाउनेछन् ।”

विसं २०१३ मा राजगुरु हेमराज पाण्डेको निजी पुस्तक खरीद गरेर राष्ट्रिय पुस्तकालयको स्थापना भएको थियो । सिंहदरबारमा रहेको सिक्री ढोका भवनबाट नेपालमा पुस्तकालय शुरु भएको पाइन्छ । सिंहदरबारको केन्द्रीय सचिवालयमा रहेको पुस्तकालय पनि यहीँ गाभिएको थियो ।

विसं २०१७ सालमा पुस्तकालयलाई सारेर शङ्कर भवनमा ल्याएको पाइन्छ । विसं २०१७ सम्म सन्दर्भ पुस्तकालयका रुपमा रहेको यो पुस्तकालय २०१८ सालदेखि सर्वसाधारणका लागि खुल्ला भएको हो ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =