बाथरोग के हो र यसको उपचार

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

लक्षणहरूः हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन्। यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ। छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन्।

कारणः बाथ रोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ । यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।

गठिया बाथको उपचार
औषधिः बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको सही पहिचान पहिले नै गर्न सकिन्छ। जोर्नीमा बिगार सुरु भएपछि उपचार कठिन हुन सक्छ। बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छः
(क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ। उपचारको सुरुवातमा यस्ता दबाइको प्रयोग गर्नुपर्ने हुन्छ। तर केवल नदुख्ने दबाइ अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ। यस्ता दबाइ सधैं सकेसम्म कम मात्रामा तथा सधैं बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ। प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक दबाइ स्टेरोइड औषधिहरू हुन्।

(ख) बाथ रोक्ने औषधिः यसप्रकारका दबाइले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ। यी दबाइहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ। यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ। मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन्। नयाँ एकदम असरदार तर एकदम महँगो दबाइ (जस्तैः रिडक्सिभ्याव) अब नेपालमा पनि पाउन थालेको छ।

व्यायामः सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =