सहकारी मार्फत उत्पादनमा जोडेर संबृद्ध समाज बनाउनुपर्छः मन्त्री अर्याल

“
असोज ९, पोखरा । गरिव पहिचान गरिएका व्यक्तिहरुलाई सहकारी मार्फत उत्पादनमा जोडी संबृद्ध समाजको परिकल्पना गर्न सकिने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताएकी छिन् । आज गण्डकी प्रदेश स्तरीय एक विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग तथा संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यू.एन.डी.पि)को संयोजन तथा राष्ट्रिय सहकारी महासंघको आयोजनामा गण्डकी प्रदेश स्तरीय ‘सहकारी क्षेत्रको प्रवर्द्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सरकारले सहकारी मार्फत गरिबी कम गरी जनताको आर्थिक स्तर बृद्धि गर्न विभिन्न योजना बनाइरहेको उल्लेख गर्दै स्थानीय तहले ऐन, नियमावली निर्माण गर्दा संघिय ऐनसँग नबाझिने गरी बनाउनुपर्ने समेत बताइन् ।
सहकारी क्षेत्रको प्रवद्र्घन र विकासमा प्रदेश तथा स्थानीय सरकारले कसरी समन्वयकारी भूमिका निर्वाह गर्न सक्छन् र त्यसमा सहकारीको भूमिका के हुन सक्छ भन्ने उद्देश्य बोकेको गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारको लक्ष्य सुखी नेपाली, सुखी नेपाल रहेको र त्यसका लागि सहकारीको क्षेत्रबाट धेरै काम गर्न सकिने जिकिर गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद वडालले सहकारीको दर्ता तथा नियमन गर्ने अधिकार स्थानीय सरकारमा गैसकेको अवस्थामा प्रत्येक स्थानिय सरकारमा सहकारी डेस्क हेर्ने सहकारी विज्ञ आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्र संघ विकास कार्यक्रम यू.एन.डि.पि का डेपुटी कन्ट्रि डाईरेक्टर आईसानि लावेले संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्य प्राप्तीमा सहकारीले शान्ति, संमृद्धि, ब्रमाण्ड, साझेदारी लगायत जनताका पक्षमा कार्य गर्न सक्ने औंल्याए । साथै लावेले ६३ लाख सहकारीमा आवद्द भएका सहकारीकर्मीहरु मध्ये यूवा, महिला, उद्यमी, कामदार लगायतका तथ्याड्ढ आवश्यक रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले स्थानीय सरकारसँगको सामिप्यतामा सहकारीले काम गर्ने वातावरण श्रृजना हुनुपर्ने तर्क राखे । महासंघका उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल वोर्ड सदस्य ओमदेवी मल्लले विश्वको सहकारी अभियानमा उल्लेख्य जनसमुदाय समाहित भएको भएतापनि नेपालका सहकारीहरु व्यावसायिक रुपमा अघि वढ्न नसकेकोले अव सहकारी तथा स्थानिय सरकारले एक आपसमा समन्वय गरी अघि बढ्नुपर्ने बताइन् ।
राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रमा व्यापक अनुसन्धानको आवश्यकता रहेको औल्याए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी मार्फत उत्पादनमा जोड दिँर्दै करको व्यवस्थापन उचित रुपमा गर्नुपर्ने औल्याए । पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जि.सी.ले सरकारले सहकारीलाई प्राथमिकतामा राखेको र सहकारी सर्वव्यापक भैसकेको जिकिर गरेका थिए ।
भोली सम्म हुने उक्त गोष्ठीमा गण्डकी प्रदेशका जिल्लाका जिल्ला स्तरीय सहकारी संघका प्रतिनिधि, गाउँपालिका, नगरपालिका, महानगरपालिका प्रमुख उपप्रमुख तथा जिल्ला समन्वय समितिका संयोजक लगायत १५५ भन्दा वढिको सहभागिता रहेको छ । कार्यक्रमले गण्डकी प्रदेशमा रहेका पालिका तथा सहकारी विच सहकारी ऐन, नीति, नियमावली निर्माणमा सहयोग तथा समन्वय विस्तार हुने विश्वास लिईएको छ ।
“








