इन्द्रदह स्नानमा २० हजार बढि भक्तजनकाे भिड

असोज ९, काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका १ स्थित दहचोकमा रहेको इन्द्र दहमा आज (मंगलबार) विशेष मेला लागेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र दह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

यस वर्ष २० हजार दर्शनार्थीले इन्द्र दह स्नान गरेको मन्दिर व्यवस्थापन समितिले अनुमान गरेको छ । इन्द्रजात्राको भोलिपल्ट दहचोकमा मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ ।

पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नास हुने जनविश्वास पाइन्छ ।
उक्त स्थानमा इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा दहमा स्नान गरेको समय देखि जात्रा मनाउन थालिएको चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।

इन्द्रले फूल चोरी गरेको अभियोगमा वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजाय स्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको बुढापाका बताउँछन् ।

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा संमृद्धि कायम हुने कुरा चन्द्रागिरी पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए ।

थानकोट, नैकाप, सितापाइला लगायत बिभिन्न स्थानबाट सजिलै पुग्न सकिने मोटर बाटोको अलावा पदयात्रा मार्ग समेत रहेकोले मेलामा भिडभाड हुने गरेको हो । काठमाडौँ उपत्यकाको अलवा धादिङ, मकवानपुर, गोर्खा लगायतका स्थानबाट पनि यो दिन मेला भर्न सर्वसाधारण आउने गरेका छन् ।

पूर्णिमाको अघिल्लो साँझमा मन्दिरमा बत्ती बाल्ने चलन रहेको छ । मृत्य भएका घरको सदस्यको नाममा यहाँ बत्ती बाल्नाले ती व्यक्तिले मोक्ष पाउने विश्वास रहिआएको स्थानीय तथा समाज सेवी किरण गिरीले बताए ।

सोमबार साँझबाटै भीडभाड देखिएको मन्दिरमा भक्तजनको सुविधाका लागि बिहानैदेखि दह खुला गरिएका थियो । वाटोको समस्याको कारण विगतका बर्षको भन्दा भक्तजनको चाप यो वर्ष कम रहेको अनुमान स्थानीयको छ ।

मेलामा खानेकुरा, लत्ताकपडादेखि विभिन्न खेलौनाको समेत स्टल राखिएका छन् । मेलामा स्थानीय उत्पादन तरकारी, फलफूल र अन्य घरेलु सामान समेत राखिएका थिए । मेलामा आउने भक्तजनको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी वृत्त वलम्वुका साथै नेपाल स्काउट, स्थानिय स्वयं सेवकको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =