किन घट्यो चितवन राष्ट्रिय निकुञ्जमा बाघ ? बढाउन के गर्ने ?

“
चितवन, असोज ८ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या २२ प्रतिशतले घटेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार सार्वजनिक गरेको बाघ गणनाको प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्जमा हाल ९३ वटा वयस्क बाघ रहेको उल्लेख छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले पाँच वर्ष पहिलेको बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा वयस्क बाघ रहेको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा २०७० साल यता विभिन्न कारण १८ वटा बाघ मरेका उपमहानिर्देशक भट्टराईले बताए ।
‘चितवन निकुञ्जमा बाघको संख्या घटेको तथ्यांक देखियो, तर मलाई यहाँको बाघ घटेको नभई बसाइँ सरेको लाग्छ’ उपमहानिर्देशक भट्टराईले भने, ‘ठाउँहरु खोज्दै जाँदा बाघहरु पर्सा राष्ट्रिय निकुञ्ज र भारतका वाल्मीकि वनतर्फ गएको हुनुपर्छ ।’ उनका अनुसार त्यतातिर बाघको संख्या बढेको छ ।
उपमहानिर्देशक भट्टराईले गतवर्ष आएको बाढीले बाघ बगाएको हुनसक्ने अनुमान गरेका छन् । उनले भने, ‘चितवन निकुञ्जको बाघ बाढीले बगाएको हुनसक्ने सम्भावना छ । ठूलो बाढी सानो बाघलाई लतारेर क्षति पु¥याएको हुनसक्छ ।’ चितवन निकुञ्जबाहेक अन्यत्र बाघको संख्या बढेको छ ।
चितवन निकुञ्जका प्रमुख वेदकुमार ढकालले चितवन राष्ट्रिय निकुञ्जमा बाघको बासस्थानको लागि चुनौतीहरु थपिएको बताए । उनले भने, ‘बाघको संख्या बढाउन उसलाई चाहिने आहार प्रजाति जोगाउनुपर्छ । आहार प्रजाति जोगाउन घाँसे मैदान प्रशस्त आवश्यक पर्छ ।’ उनका अनुसार साधन स्रोतको अभावले बाघको बासस्थान जोगाउन सकिएको छैन, क्षयीकरण हुँदै गइरहको छ ।
प्रमुख ढकालले भने, ‘सीमसार क्षेत्र पुरिँदै गएका छन्, निकुञ्जभित्र निउरो टिप्नदेखि माछा मार्न जानेहरूको संख्या वृद्धि भएको छ, जुनसुकै बेला पर्यटकको आवागमन भइरहेको हुन्छ । यस्ता विविध कारणले बाघलाई चितवन राष्ट्रिय निकुञ्ज चुनौती बन्दै गएको छ ।’
उनले चितवन राष्ट्रिय निकुञ्जको चौडाइ कम छ, लम्बाइ मात्र भएको हुनाले बाघ अन्यत्र गएको हुनसक्ने बताए । उनले भने, ‘चितवन निकुञ्जले कति वटा बाघलाई थेग्न सक्छ भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौँ ।’ चितवन निकुञ्जको चौडा कम भएको हुनाले धेरै बाघको क्षमता राख्न नसक्ने प्रमुख ढकाल बताउँछन् ।
उनका अनुसार केही बाघ बूढो भएर, केही विषादीमा परेर समेत निकुञ्जका बाघ मरेका छन् । मान्छेमाथि आक्रमण गर्ने ३ वटा बाघलाई निकुञ्जले थुनेर राखेको छ । गत वर्ष दुई र यो आर्थिक वर्षमा एउटा बाघलाई निकुञ्जले थुनेको हो ।
चितवन निकुञ्जको गणनामा ६ सय जोडी क्यामेरा प्रयोग गरिएको थियो । स्वचालित क्यामेराले ८ हजार तस्बिर लिएको थियो ।
सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो । पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् । देशभर १९ प्रतिशतले बाघको संख्या बढेर २३५ पुगेको छ ।
‘बाघको गणना गैंडाको जस्तो हुँदैन’
बाघको विषयमा पीएचडी गरेका डा झमक कार्कीले बाघको संख्या गणना गैंडाको जस्तो नहुने बताएका छन् ।
उनले भने, ‘गैंडा एकएक गरेर गन्न सकिन्छ, तर बाघ गणना क्यामेरोको ट्यापमा परेको आधारमा गरिन्छ, र बीचको विन्दुलाई आधार मानिन्छ ।’ उनले बाघको संख्या गणनामा जस्तो आए त्यस्तो नभई केही तलमाथि हुन सक्ने बताए ।
उनले बाघको वयस्कमात्र गणना हुने र बच्चाको गणना नहुने बताए । चितवनमा बाघ घट्नुको कारण यो क्षेत्रका बाघ अन्यत्र गएको हुनसक्ने बताए ।
उनले भने, ‘२००८ देखि मैले चितवनको बाघको विषयमा नजिकबाट हेरेको छ, त्यतिबेलादेखि अहिले एक सयको आसपासमा छ, नयाँ ठाउँ खोज्दै र साथीसँग झगडा गरेर अन्यत्र गएका बाघ चितवनमा फर्कन सक्छन् । त्यो बेला बढ्न सक्छन् ।’ उनले चितवन निकुञ्जले कति वटा बाघको क्षमता राख्न सक्छ भन्नेकुराको अध्ययन हुनुपर्ने बताए ।
उनले चितवन निकुञ्जमा बाघ नघटेको बताए । उनका अनुसार चितवनको बाघ गएर नै पर्सामा र वाल्मीकिमा बढेका हुन्, ती फर्कन सक्छन् । एउटा बाघले ४ वटासम्म बच्चा जन्माउँछ । सामान्यतया बाघको आयु २० वर्ष हुन्छ ।
“








