आगामी चुनावमा काँग्रेस पार्टी ‘एक नम्बर’ बन्छ– महामन्त्री कोइराला

“
काठमाडौँ, असोज ७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
बुटवलमा आइतबार भएको एक कार्यक्रममा काँग्रसका महामन्त्री कोइरालाले पार्टी गुट उपगुटका कारणले सही हिसाबले अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आन्तरिक विवादलाई साम्य पारेर आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै महामन्त्री डा.कोइरालाले मुलुक संघीयतामा गएपछि पनि दुई तिहाईको कम्युनिस्ट सरकारले केन्द्रीकृत शासन चलाउन खोजिरहेको आरोप लगाए ।
यस्तो अवस्थामा जनतालाई अधिकार दिलाउन कांग्रेसको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ। मुल्यबृद्धि र कर बृद्धिले जनता निरास भएको बताउँदै सरकारलाई समयमै सोच्न र गलत निर्णय सच्याउन महामन्त्री कोइरालाले आग्रह गरे।
साथै उनले काँग्रेसको आगामी महाधिवेशनमा सभापतिमा कोइराला परिवारबाट शेखर, सुजाता वा आफूमध्ये एक जनाले सभापतिमा उम्मेद्धारी दिने घोषणा गरे । पार्टीको विधान संशोधन गर्दा केन्द्रीय सभापतिसहित केन्द्रका अधिकारलाई वडा तहसम्म विकेन्द्रीत गर्नु पर्ने बताए ।
“








