कांग्रेसको विधान संशोधनमाथि वृहत छलफल

“
धरान, असोज ७ । नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको विधान संशोधन सम्बन्धि बैठकमा वृहत छलफल भएको छ ।
बैठकका सहभागीहरुबाट पार्टीको संरचना र स्वरुपलाई राज्यको संरचना अनुसार निर्माण गर्नुपर्ने, समानुपातिक समावेशी बनाउनुपर्ने, सबै तहको कार्यसमितिको आकार र पदाधिकारीहरुको संख्या बढाउनुपर्ने, सबै तहका पदाधिकारीमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम लगायतको समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विधान विपरित र अनुशासनहीन कार्य गर्ने जो कोहीमाथि कारबाहीको व्यवस्था हुनुपर्ने सुझाव आएको सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए ।
त्यस्तै बैठकमा सबै तहमा दुई कार्यकाल भन्दाबढी सभापति हुन नपाउने व्यवस्था हुनुपर्ने, पार्टीको सबै तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने, सामुहिक नेतृत्व र स्पष्ट कार्य विभाजनको व्यवस्था हुनुपर्ने, क्रियाशील सदस्यता वितरण सम्बन्धि स्पष्ट नीति बनाउनुपर्ने, केन्द्रिय नेताहरु पनि वडा तहबाटै चुनिँदै जाने व्यवस्था हुनुपर्ने, भातृ र शुभेच्छुक संस्थाहरुलाई स्वायत्त बनाउनु पर्ने, प्रदेश क्षेत्र समिति, संघीय क्षेत्र समिति, जिल्ला समिति, प्रादेशिक समिति र केन्द्रिय समितिका लागि छुट्टाछुट्टै प्रतिनिधि हुने व्यवस्था हुनुपर्ने, समानुपातिक निर्वाचन प्रणालीतर्फ पटक–पटक एउटै व्यक्तिले अवसर नपाउने व्यवस्था हुनुपर्ने लगायतको सुझाव आएको सचिव तामाङले बताए ।
जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा सम्पन्न भएको बैठकले सहभागीहरुको सुझावलाई लिपिवद्ध गर्न र सबैको भावनालाई समेटेर अग्रगामी एवम् वैज्ञानिक विधान निर्माणका लागि जिल्लाको तर्फबाट पेश गर्ने सुझाव तयार गर्न नेपाली कांग्रेसका नेता चन्देश्वर शर्मा खत्वेको संयोजकत्वमा नौ सदस्यीय विधान संशोधन सुझाव मस्यौदा समिति बनाएको छ ।
समितिका सदस्य सचिवमा डिएलए सुनसरीका सचिव रमेश दाहाल र सदस्यहरुमा जिल्ला सचिव डिएन मेहता, सहसचिव नगेशचन्द्र राई, जिल्ला सदस्यहरु राजदीप लामा, विमला ढकाल, वालसुधार परियार, महासमिति सदस्य राजिव ढुंगाना, नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेनु सिग्देल रहेका छन् ।
बैठकमा सभापति कोइराला, वरिष्ठ नेता प्रदिप चौधरी, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, पूर्व पर्यटन राज्यमन्त्री सुमित्रादेवी थरुनी, नेता चन्देश्वर शर्मा खत्वे, पूर्व आमन्त्रित केन्द्रिय सदस्य दिलकुमारी राई, जिल्ला समन्वय समिति सुनसरीका उपसभापति कृष्ण विक, जिल्ला सदस्यहरु राजदीप लामा, गोविन्द दर्नाल, रुपा कार्की, विमला ढकाल, केशीलाल चौधरी, मैचन साह, वालसुधार परियार, चन्देश्वर चौधरी, महासमिति सदस्य केशव सिटौला, महाधिवेशन प्रतिनिधिहरु शम्भु साह, डिल्ली कार्की, भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेताहरु रमेश दाहाल, वेनु सिग्देल, मन्दिप भट्टराई, विजया कटवाल, सुशिला ठाकुर, केशव भट्टराई, अन्य सहभागी नेताहरु एसएन मेहता, लक्ष्मी मेहता, सुरत यादव लगायतले आफ्नो विचार राखेका थिए भने सचिवद्धय सुजेन्द्र तामाङ र डिएन मेहता तथा सहसचिव नगेशचन्द्र राईले टिपोट र सहजीकरण गरेका थिए ।
वैठकमा जिल्लास्थित केन्द्रिय नेता, संघ तथा प्रदेश सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका नेताहरुको उपस्थित रहेको थियो ।
“








