जसलाई जनताका कामबाट फुर्सद हुँदैन

“
सुनसरी क्षेत्र नं. ३ बाट राजनीति गर्दै आएकी भगवती चौधरीले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्वार विजय गच्छदारसँग सड्यन्त्रपूर्वक हार्नुपर्दा सायदै पुनः समाजसेवा र राजनीति गर्छिन् भन्ने धेरैलाई शंका थियो । शतप्रतिशत जनता भगवतीका पक्षमा रहँदा पनि गच्छदारले मासु, रक्सी र पैसाको बलमा चुनाब जित्दा परिवर्तनका पक्षधर जनता रोएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा गच्छदारकै सड्यन्त्रको शिकार भएकी चौधरीका लागि गएको निर्वाचनमा पनि पुनः त्यहि नियति दोहोरियो । कांग्रेसको सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री थिए गच्छदार । उनले जनाधारै नभएको उक्त क्षेत्रमा रक्सी, मासु, पैसा र राज्य संयन्त्रको शक्तिको चरम दुरुपयोग गर्दै चुनाब जिते । जनजिविकाका पक्षमा, परिवर्तनको पक्षमा, विकासको पक्षमा उभिएकी भगवती चौधरीलाई फेरी हराइयो ।
चुनाब सकीएको धेरै समयसम्म कसैसँग भेट नगरेकी चौधरी अहिले पुनः गाउँघरतिर आउन थाल्दा स्थानीय जनता दंग भएका छन् । धेरैले हारेर पनि जितेकी ’चेली’ भन्दै स्वागत गर्न थालेका छन् ।
गच्छदारले विर्सिएको क्षेत्रमा भगवतीका पाइला
सड्यन्त्रपूर्वक निर्वाचनमा हार्नुपर्दा केहि समय चुपचाप रहेकी चौधरी गच्छदारका विरुद्ध न्यायालयको ढोका ढक्ढक्याउँदै अहिले पुनः राजनीति र समाजसेवामा सक्रियता बढाउँदै गर्दा उनलाई अझैपनि न्यायालयले आफु माथि न्याय गर्छ भन्ने भरोसा छ । तर, समय धेरै घर्किसकेकोले न्याय फर्कन्छ भन्नेमा शंका छ ।
‘जनताको सेवा गर्न मलाई कुर्सी नै चाहिन्छ भन्ने त हैन तर, एक पटक यहाँबाट जितेर जानपाए यो क्षेत्रका गरिब किसान दाजुभाई दिदिबहिनीका लागि केहि गर्छु भन्ने थियो ।’ शुक्रबार सुनसरी–३ को ग्रामिण भेगमा आफ्ना कार्यकर्तासँग भलाकुसारी गर्दैगर्दा भेटिएकी चौधरीले भनिन् ।
उनी जिल्ला आएको थाहा पाएपछि गढी गाउँपालिकामा पार्टीका अगुवा कार्यकर्ताहरुको भेला भयो । समसामयिक विषयमा छलफल सँगै पार्टी समायोजनका कुरादेखि स्थानीय जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम नगरेको गुनासो आयो । अनी चौधरीकै राय सुझाबमा गाँउपालिकामा कानुनी शुुशासन कायम गर्न संघर्ष समिति गठन गर्ने र त्यसको काम कर्तब्य समेत तोक्ने निर्णय भयो ।
स्थानीय सरकारले गरेका कार्यहरु भेदभावपूर्ण भएको भन्दै संघर्ष समितिले खबरदारी गर्ने समेत निर्णय गर्यो भने, चौधरी गाउँ आएको अवसरमा कांग्रेसका केहि युवा कार्यकर्ताहरु नेकपा पार्टीमा प्रवेश समेत गरे । चौधरीको सकृयताले पराजयबाट निस्कृय भएका स्थानीय कार्यकर्ता जुर्मुराएका छन् ।
गच्छदारले राजधानीमा आलिशान महल जोडे । सातपुस्तालाई पुग्ने सम्पत्ति जोडे । तर, वर्षाका भेलमा जनताका माटोका घरहरु भत्कँदा हेर्न समेत आएनन्
गच्छदारका गाउँमा शौचालय छैन
सुनसरी क्षेत्र नं. ३ कृषि क्षेत्रको लागि अत्यन्त उर्वरभूमि हो । तथापि, आधुनिक सिँचाई अभाव, बैज्ञानिक कृषि प्रणाली, बजार अभाबका कारण यी क्षेत्रका किसान अझैपनि परम्परागत कृषि प्रणालीमा रुमलिएका छन् । पटकपटक भौतिक निर्माण यातायात मन्त्री भएका गच्छदारले नत यहाँका किसानका लागि कालोपत्रे सडक दिनसके, नत सिचाईको सुविधा दिए । नत, आधुनिक कृषि परियोजना नै । चार दशकको गच्छदारको राजनीतिक जिवनले १२ पटक सत्ताको कुुर्सीको स्वाद पाउँदा यहाँका सोझा साझा जनताले निर्वाचनका बेला दुई छाक मासुभात र एक बोतल दारु मात्र पाए ।
दुई छाक मासुभात र एक बोतल दारुले आर्थिक संबृद्धि आउने भए यो क्षेत्रका जनता गच्छदारको चार दशक लामो राजनीति यात्रामा खाएको मासुभात र दारुले नेपालकै धनी र शिक्षित जनता हुन्थे । तर, विडम्बना ! यो क्षेत्रका ग्रामिण भेगका अधिकांश सडक कालोपत्रे भएका छैनन्, गुणस्तरीय शिक्षालय छैन, खेतबारीमा सर्पले टोक्दा समयमै उपचार नपाएर अकालमै मृत्यूवरण गर्नुपर्ने अवस्था छ । स्वच्छ खानेपानीको कुरा छाडौं, शौचालयसमेत नहुँदा अझैपनि जनता बाँसघारी र खेतका गरामा दिसापिसाब गर्न बाध्य छन् ।
जनताको भोट पाएर गच्छदारले राजधानीमा आलिशान महल जोडे । सातपुस्तालाई पुग्ने सम्पत्ति जोडे । तर, वर्षाका भेलमा जनताका माटोका घरहरु भत्कँदा हेर्न समेत आएनन् । त्यस्तो बेलामा भगवती आइन मसिहा बनेर । उनी एक्लैले २५ लाख भन्दा बढिको खाद्यान्न, लत्ताकपडा राहत बाँडिन । बर्खाको भेलमा जनतासँगै बसिन्, जनतासँगै रुझिन् ।
भगवती गाउँतिर, गच्छदार शहरतिर
चौधरी पछिल्ला दिनहरु गृहजिल्ला तिर धेरै दौडन्छिन् । आफ्ना नेता कार्यकर्ताका घरघर जान्छिन्, समस्या सुन्छिन्, सकेसम्म सानातिना समस्या त्यहिँबाटै समाधान गर्न पहल गर्छिन्, ठूला र विकासका काम छन्भने सम्बन्धित मन्त्रालयसँग लविङ गर्ने तर्फ अग्रसर हुन्छिन् ।
तर, उनकै प्रतिष्पर्धी विजयकुमार गच्छदार भने, आफ्नै क्षेत्रका जनतालाई चिन्दैनन् । यहाँसम्मकी उनी जिल्ला गएका बखतपनि घरदेखि बाहीर जनतासँग कुरा गर्न रुचाउँदैनन् । चार दशकदेखि सत्तामा रहेकाले आफ्ना जनता नचिन्नु कस्तो उदेक लाग्दो !
‘सुनसरीको ३ नं. क्षेत्र कृषि क्षेत्रको लागि उर्वर क्षेत्र हो, तथापि, यो क्षेत्रमा सहि नेतृत्व नहुँदा राज्यको उपस्थिति र लगानी भएन । यहाँका जनतालाई भोट बैंक मात्र ठानियो ।’ चौधरी भन्छिन् ।
दुई छाक खान धौधौ पर्ने यहाँका महिला अहिले घर जग्गा जोड्ने हैसियत राख्छन् । आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सफल भएका छन् ।
फरवार्डले देखाएको बाटो
जस्तो नाम उस्तै काम । अर्थात, फरवार्डले यहाँका महिलालाई आर्थिक, साामाजिक क्षेत्रमा साँच्चिकै फरवार्ड बनाइदिएको छ । फरवार्ड नेपाल गैरसरकारी संस्थाले महिलामा रहेको सिप र क्षमता प्रस्फुटन गराउन विभिन्न सिपमुलक तालिम दिन्छ, साउँअक्षर नचिनेका महिलालाई साक्षर बनाउँछ । महिला अधिकारकालागि शशक्तिकरण अभियान चलाउँछ ।
फरवार्ड माइक्रोफाइनान्सले तीनै महिलालाई सामुहिक जमानीमा विभिन्न आयमुलक ब्यवसायका लागि ऋण प्रवाह गर्दछ र, आर्थिक क्षेत्रमा अगाडी बढ्न प्रेरित गर्दछ । अनी यी सबैको नेतृत्व गरेकी छिन्, नेतृ चौधरीले ।
फरवार्ड नेपाल मार्फत ग्रामिण महिलालाई सिपमुलक तालिम दिएर माइक्रोफाइनान्स मार्फत आय आर्जनमा लगानी गरिँदिँदा धेरै महिलाको आर्थिक स्तर बलियो भएको छ । फरवार्ड आउनुअघि दुई छाक खान धौधौ पर्ने यहाँका महिला अहिले घर जग्गा जोड्ने हैसियत राख्छन् । आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सफल भएका छन् । स्वरोजगार भएका छन् । ‘महिलालाई आर्थिक क्षेत्रमा बलियो बनाउन सक्यो भने, परिवारको पनि आर्थिक अवस्था बलियो हुन्छ, घरब्यवहारमा पुरुषको दाँजोमा महिला बढि जिम्मेवार र इमान्दार समेत हुन्छन् ।’ देशभर करिब सवा दुई लाख महिलालाई स्वरोजगार र आत्मनिर्भरको बाटोमा डोर्याउँदै आएकी चौधरीको कथन छ ।
उठेदेखि ओच्छ्यानसम्मै समाजसेवा र राजनीति
नेतृ चौधरीका अधिकांश दिन सामाजिक काम, भेटघाटमै वित्छ । गाउँमा उनलाई विहानै देखि भेट्नेहरुको लर्को लाग्छ । सामान्य घरायसीदेखि राष्ट्रनिर्माण सम्मका विषयमा चौधरीलाई भेट्नेहरुको लस्कर हुन्छ । खुल्ला ह्दयकी चौधरी सकेसम्म सबैलाई समय दिन चाहन्छिन् । तर, मान्छेको शरीर न हो, २४ सै घण्टा कहाँ कुद्न सक्छ र । ‘कहिले काँही जनतासँग घुलमिल हुन शरीरले साथ दिँदैन, तरपनि आफुले भ्यायसम्म कोशिष गर्छु । कुनै दिन गाउँघरबाट फोन आएन वा कोहि भेट्न आएन भने अनौठो लाग्छ ।’ उनी भन्छिन् ।
राजधानीमा रहँदा उठेदेखि बेलुका ओछ्यान नपुगुन्जेल जनताका समस्या मन्त्रालयसम्म लैजानु, दैनिक गुनासा सुन्नु, पार्टीको बैठक, महिला अधिकारका कुरामा ब्यस्त हुनु चौधरीको दैनिकी हो । गाउँघरमा जनताका समस्या सुन्नु, पार्टीका कार्यकर्तालाई उत्प्रेरणा दिँदैमा उनको दिन वित्छ । गच्छदारको इलाकामा जनताका दुखः सुखमा साथ दिँदै भगवतीले राज गर्न थालेकी छिन् ।
अधिकांश युवा मतदाता गच्छदार युगबाट बाहिरिन चाहन्छन् र, नयाँ नेतृत्वको पर्खाइमा छन् । जसका लागि भगवती चौधरी निर्विकल्प उदाउँदै छिन् ।
रक्सी र मासुले जोगिएको विराशत
पटकपटक सत्तामा रहेपनि जनताका लागि केहि नगरेका गच्छदारका पछिल्तिर जनता थिएनन् । शक्ति र पहुँचको आडमा वर्षौदेखि चुनाब जित्दै आएका उनले प्रतिनिधिसभा निर्वाचनमा पनि गाउँगाउँमा मासु र रक्सीको खोलो बगाइदिएर आफ्नो विराशत त जोगाए तर, जनताका मनबाट भने बाहिरिए ।
स्थानीय निकायको निर्वाचनमा कांग्रेस र फोरमको भोट जोड्दा एमाले–माओवादी गठबन्धनको भन्दा १५ हजारको मतान्तर बढि थियो जसलाई प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा चौधरीले ३२१ मा ल्याउन सफल भइन् । अधिकांश युवा पुस्ता चौधरीका पक्षमा खुलेर आएपनि राज्य संयन्त्र नै गच्छदारको पक्षमा उभिदा परिवर्तन पक्षधर हार्नुपयो ।
३२१ मतले गच्छदार सिंहदरबार छिरेपनि जनताका घरमा छिर्न सकेनन् । साख गिरेकोले होला चुनाब जितेपछि उनले विजयोत्सव मनाउन सकेनन् । ०७० सालको संविधानसभा निर्वाचनमा पनि चौधरीले गच्छदारलाई काउन्टर दिएकै थिइन् । यसपटक १५ हजारको मतान्तरलाई ३२१ मा ल्याउनु चानचुने कुरा पनि थिएन ।
नयाँ नेतृत्वको पखाई
अब भने, गच्छदारको विरासत धर्मराउँदै गएको छ । साउँअक्षर नचिनेका जनतालाई गच्छदारले आफु मधेशको मसिहा भन्दै वर्षौ शोषण गरेका थिए । तर, अहिले पुरानो पुस्ता अस्ताउँदै जाँदा नयाँ शिक्षित पुस्ता उदाएका छन्, जसले गच्छदार झुट्टा आश्वासन विर्सिएका छैनन् । अहिले सो क्षेत्रका अधिकांश युवा मतदाता गच्छदार युगबाट बाहिरिन चाहन्छन् र, नयाँ नेतृत्वको पर्खाइमा छन् । जसका लागि भगवती चौधरी निर्विकल्प उदाउँदै छिन् ।
“








