दुर्इ रुपैयाँ खाने पनि भ्रष्टाचारी हुन्, उन्मुक्ति दिन्न– नवनियुक्त अख्तियार प्रमुख घिमिरे

“
काठमाडौँ, असोज ५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टारीलाई उन्मुक्ति नदिने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग शपथ लिएपछि बिहीबारै अख्तियार कार्यालय पुगी पदभार ग्रहण गर्दै उनले दुई रुपैयाँ खाने या करोडौँ खाने भ्रष्टाचारीलाई उन्मुक्ति नदिने बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संसदीय सुनुवाइ समितिमा सांसदहरूका प्रश्नमा जवाफ दिँदै आयल निगमको विषयमा विस्तृत अनुसन्धान गरी छिटो भन्दा छिटो यसको परिणाम नेपाली जनताले थाहा पाउने गरी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विगतका राजनीतिक आग्रह र त्यसको सम्बन्ध, प्रवृत्ति र पद्धतिबीचको द्वन्द्व, अभिव्यक्ति र तटस्थताबीचको द्वन्द आयोग र यसका पदाधिकारीहरूका लागि पाठको विषय भएको उनको भनाइ छ ।
आगामी दिनमा ती कुराहरूको पुनरावृत्ति नहोस् भन्ने कुरामा आयोग सचेत रहने दृढता व्यक्त गरे । ‘२०७४ फागुन २ देखि म कामु आयुक्तको रूपमा छु। नेपाली जनताले प्रश्न उठाउनुपर्ने क्रियाकलापमा आयोग संलग्न भएको छैन भन्ने म निवेदन गर्छु’ उनले भने, ‘आगामी दिनमा पनि आयोगको नियतमाथि प्रश्न उठ्ने गरी कुनै काम नहोस् भन्नेमा आयोगको सजगता रहनेछ । यो मेरो प्रतिवद्धता रह्यो ।’
साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक हस्तक्षेपमा काम नगर्ने भन्दै अख्तियारलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएर लाने बताए ।
एउटा वडाध्यक्ष निर्वाचित हुन खर्च गरिएको दुई करोड रुपैयाँ कसरी उठछ भन्ने प्रश्न गर्दै उनले खर्च निर्वाचन प्रणाली साह्रै नै खर्चिलो भएकोमा संसद समितिको ध्यानाकर्षण गराए ।
संसदीय सुनुवाइ समितिले सुनुवाइपछि बिहीबार अपराह्न घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। घिमिरे दुई वर्ष प्रमुख आयुक्त हुने छन्।
६५ वर्षे उमेर हदका कारण २०७७ असोज २८ गते उनले अवकाश पाउने छन्। २०७४ फागुन २ गतेदेखि कार्यवाहक प्रमुख आयुक्त रहेका घिमिरे २०७१ चैत १९ गते आयुक्त नियुक्त भएका हुन्।
“








