सरकार र व्यवसायीको लफडा : सुरु भएन दसैंका लागि अग्रिम टिकट बुकिङ

“काठमाडौं, असोज ५ । शुक्रबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भनिए पनि सरकार र व्यवसायीको लफडाका कारण रोकिएको छ। अरु विषयमा सहमति गरेर टिकट बुकिङ गर्न तयार भएका यातायात व्यवसायी सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि टिकट बुकिङ नगर्ने निर्णयमा पुगेका हुन्।

महासंघको बिहीबार बसेको आकस्मिक बैठकले सरकारले बढेको तेलको मूल्य फिर्ता नलिएकाले टिकट बुकिङ नगर्ने निर्णय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

उनले भने, ‘भदौ २० गते बढाइयो, त्यसको १५ दिन पनि बित्न नपाउँदै फेरि बढायो। सरकार नागरिकप्रति उत्तरदायी नहुँदा यो समस्या आएको हो। भाडा बढाउँ चाडबाडको मुखमा भाडा बढाउने भन्ने, अनि सरकारले चाहिँ पेट्रोलियम पदार्थको मूल्य बढाएको बढायै गरेकाले समस्या भएको हो।’

उनले चरम अवस्था भएकैले यो निर्णयमा पुग्नु परेको बताएका छन्। यातायात व्यवसायीले मंगलबार सरकारलाई बढेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए। तर सरकारले कुनै रेस्पोन्स नदेखाएको महासचिव सिटौलाले बताए।

सरकार सबैप्रति उत्तरदायी हुनु पर्ने भन्दै पछि कुनै समस्या भए सरकारकै कारण हुने तर्क उनले गरे। सरकार र यातायात व्यवसायीको बारम्बारको लफडाका कारण यो दसैंमा पनि घर जानेले समस्या भोग्नु पर्ने देखिएको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =